बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

विश्वकपमा सट्टेबाजीः २० वर्षीय युवकको देखियो २ करोड बढी कारोबार

विश्वकपमा सट्टेबाजीः २० वर्षीय युवकको देखियो २ करोड बढी कारोबार

काठमाडौं । नेपाल प्रहरीले वानएक्स वेटमार्फत विश्वकप फुटबलमा सट्टेबाजी गराएको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी घर भइ ललितपुर बस्दै आएका २० वर्षका आदर्श ठाकुर छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले रसियन बेटिङ एप्लिकेशन वानएक्स वेटमार्फत सट्टेबाजी भइरहेको सूचनाका आधारमा उनलाई पक्राउ गरेको एसपी कृष्ण कोइरालाले बताए । उनका अनुसार ठाकुर वानएक्स बेटका लागि एजेन्टका रुपमा सक्रिय थिए ।

‘उनले विगत ८ महिनादेखि सट्टेबाजी गर्ने एजेन्टका रुपमा काम गर्न थालेका थिए’, कोइरालाले भने, ‘रकम संकलन र भुक्तानीका आधारमा कमिसन निर्धारण हुने भएकाले बढी रकम संकलन र भुक्तानीको लोभमा विभिन्न व्यक्तिको नाममा डिजिटल वालेट खोलेर कारोबार गरेको पनि देखिएको छ ।’

एसपी कोइरालाका अनुसार त्यसक्रममा उनले विभिन्न व्यक्तिका नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपिसमेत खरिद गरेर विभिन्न सेवा प्रदायकको सीम कार्ड खरिद गर्ने गरेको देखिएको छ । वालेटमा जम्मा गरेको रकम उनले नबिल, सिद्धार्थ र एनआईसी एसिया बैंकमा रहेको खातामा जम्मा गर्ने गरेको देखिएको प्रहरीले जनाएको छ ।

त्यसक्रममा उनले हालसम्म जम्मा २ करोड २ लाख ९४ हजार ४४८ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको प्रहरीको भनाइ छ । अनुसन्धानका क्रममा खुल्न आएका ४८५ सेवा प्रदायकहरुको डिजिटल वालेटको कारोबार पनि रोक्का गरिएको प्रहरीले बताएको छ । एसपी कोइराला भन्छन्, ‘थप अनुसन्धान गरिरहेका छौं ।’