शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

देश मध्यावधिमा जाने सम्भावना छः ओली

देश मध्यावधिमा जाने सम्भावना छः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश मध्यावधि निर्वाचनमा जाने सम्भावना रहेको बताएका छन् । आइतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले अहिलेको संसदबाट सरकार गठन नै नहुने अवस्था आएको भन्दै देश मध्यावधि निर्वाचनमा जाने सम्भावना रहेको बताएका हुन् ।

प्रधानमन्त्री बन्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इच्छा गरेको तर समयमा कदम नचालेको भन्दै ओलीले अरुले पनि समयमा कदम नचाले देश मध्यावधिमा जाने बताएका हुन् ।

‘‘अरुले पनि समयमा कदम चालेनन् भने, समयमा आफूआफूलाई हेरे भने, देश फेरि घुमिफिरि मध्यावधिमा जाने सम्भवना छ । जाँदैन भन्न सकिँदैन’ उनले भने, ‘किनभने सरकार गठन नै हुन सकेको छैन स्वार्थको टकरावले भने सञ्चालन कसरी होला ?’

अरु दलहरुमा व्यक्तिगत र दलगत स्वार्थ देखिएका कारण सरकार नै बन्न नसकेको ओलीले बताए । उनले अहिलेको परिस्थितिलाई आफूहरुले नजिकबाट हेरिरहेको भन्द एमाले मुकदर्शक बनेर नबस्ने बताए ।

‘हामी मुकदर्शक भएर हेरेर बस्न सक्दैनौं । जेसुकै भए पनि अहिलेको परिस्थितिमा, ओरालो लागेको परिस्थितिलाई सकारात्मक बाटोमा कसरी फर्काउने त्यतापट्टि नेकपा एमालेको ध्यान छ’ उनले भने ।