शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

आज प्रचण्डले प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने

आज प्रचण्डले प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज प्रधानमन्त्री पदको शपथ ग्रहण गर्नेछन्। प्रचण्डलाई हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गरेकी थिइन्।

प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनेका हुन्। आज अपराह्न चार बजे राष्ट्रपति कार्यालय शितल निवासमा उनको शपथ ग्रहण हुनेछ। नेपालको संविधानको धारा ७६ (२) अनुसार प्रचण्ड नेपालको ४४औँ प्रधानमन्त्री नियुक्त भएका हुन्।

एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदहरूको समर्थनमा प्रचण्डले हिजो प्रधानमन्त्रीमा दावी गरेका थिए। उनलाई प्रतिनिधि सभाका १६९ जना सांसदहरूको समर्थन थियो।

आज प्रचण्डले शपथ ग्रहण गरेपछि केही मन्त्री समेत नियुक्त गर्ने भएका छन्। सानो आकारको महत्त्वपूर्ण मन्त्रालयसहित मन्त्रिमण्डल गठन हुने बताइएको छ। अन्य मन्त्री विस्तारै थप्दै जाने तयारी रहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।