मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

डिएसपी ठगबहादुर केसीको निवासमा भेटियो ३५ तोला सुन र नगद

डिएसपी ठगबहादुर केसीको निवासमा भेटियो ३५ तोला सुन र नगद

बुटवल । 
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डिएसपी) ठगबहादुर केसी पक्राउ परेका छन् । काठमाडौंबाट गएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को अनुसन्धान टोलीले उनलाई नियन्त्रणमा लिएको हो । 

सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न भन्दै आएको प्रहरी टोलीले केसीको निवासमा खानतलासी गर्दा लाखौं नगद फेला परेको प्रहरी स्रोतको भनाइ छ।

गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनिहरुमाथि छानबिन सुरू गरेको थियो।

केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद भएको प्रहरी स्रोतको भनाइ छ। केसीले सुन नियन्त्रणमा लिई व्यापारीसँग २५ लाख रुपैयाँ मागेको आरोप छ। व्यापारीले २५ लाख रुपैयाँ बुझाए पनि सुन फिर्ता लिन नपाउँदै केसीलाई प्रहरीको छानबिन टोलीले नियन्त्रणमा लिएको हो।

यसअघि नै इलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार रमाना लिई जाने तयारी रहेकोमा काठमाडौंबाट आएको प्रहरी टोलीले नियन्त्रणमा लिएर रमाना लिन रोक लगाएको छ।

करिब १३ महिना अघि केसी बुटवल आएका थिए। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक रवीन्द्र रेग्मीले केसी नियन्त्रणमा परेकोबारे स्वीकार गरेका छन् ।