शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता छान्न आज मतदान

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता छान्न आज मतदान

काठमाडौं । 
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको लागि आज निर्वाचन हुँदैछ । संसदीय दलको नेताको लागि हेटौंडा स्थित संसदीय दलको कार्यालयमा विहान ८ बजेदेखि निर्वाचनको कार्यक्रम सुरु गरिने कार्यतालिका सार्वजनिक भइसकेको छ ।

कांग्रेस संसदीय दलको नेताको निर्वाचनको लागि कांग्रेस बागमती प्रदेशका उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा रहेको निर्वाचन समितिले मंगलबारबाट चुनावी प्रक्रिया थालेको थियो । समितिले मंगलबार मतदाता नामावली प्रकाशन गरेको थियो भने आज उम्मेदवारी तथा मतदानको कार्यक्रम रहने निर्वचन समितिका सदस्य एवम् कांग्रेस प्रदेश समिकिा महामन्त्री राजु श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बिहान ८ बजेबाट उम्मेदवारी दर्ता खुल्ला हुनेछ भने दिउँसो २ बजेदेखि मतदान कार्यक्रम संचालन हुनेछ । मतदानका लागि एक घण्टाको समय निर्धारण गरिएको छ । जस अनुसार दिउँसो ३ बजे मतदानको कार्यक्रम सम्पन्न हुनेछ ।

केन्द्रीय सत्ता गठबन्धन अनुसार प्रदेश सरकार निर्माण भएको खण्डमा कांग्रेस प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहने निश्चित छ । प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेसले आन्तरिक निर्वाचन नै गरेर दलको नेता छनोट गर्न लागेको हो । ३७ सांसद रहेको कांग्रेसको दलको नेताका लागि मकवानपुर क्षेत्र नम्बर–२ को (ख)बाट निर्वाचित सांसद इन्द्रबहादुर बानियाँ र नुवाकोट क्षेत्र नम्बर–२ को (ख) बाट निर्वाचित सांसद बहादुर सिंह लामाबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

दुबै नेता कांग्रेस संस्थापन समूहका हुन् । बानियाँ कांग्रेस बागमती प्रदेश सभापति हुन् भने लामा कांग्रेस केन्द्रीय सदस्य हुन् । दुबै जना प्रदेशको नेतृत्व गर्न आफ्नो आवश्यकता रहेको बताउँदै आएका छन् । दुबै जना आफ्नो पक्षमा माहौल सिर्जना गर्न छुट्टा छुट्टै भेटघाट र बैठकहरु आयोजना गरिरहेका छन् ।