शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

माधव नेपाललाई दाहालको प्रस्ताव, ‘सरकारमा आउनू’

माधव नेपाललाई दाहालको प्रस्ताव, ‘सरकारमा आउनू’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन्। 

हात्तीवनमा आज बिहान भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले नेपाललाई सरकारलाई समर्थन गर्दै सहभागी हुन प्रस्ताव गरेका हुन्। अध्यक्ष नेपालले आज बिहान प्रधानमन्त्रीसँग आफ्नो भेटवार्ता भएको र उनले सरकारलाई सहयोग गर्न आग्रह गरेको जानकारी दिए। 

“बिहान हाम्रो बीचमा कुराकानी भयो। मैले शुरूमै तपाईंले हामीलाई बेवास्ता गरेर जानुभयो भनेर आपत्ति प्रकट गरे”, अध्यक्ष नेपालले उकालोसँग भने, “उहाँले त्यसमा केही कमी भएको हो। म त्यसमा क्षमा माग्छु भन्नुभयो।” अध्यक्ष नेपालले प्रधानमन्त्रीले भेटघाटलाई बढाउँदै मिलेर जानुपर्ने धारणा राखेको बताए। 

दाहालले सरकारमा सहभागी हुन गरेको प्रस्तावमा अध्यक्ष नेपालले पार्टीको बैठक बोलाएर छलफल गरेर निर्णय लिने जवाफ दिएका छन्। पछिल्लो गठबन्धनलाई आफ्नो पार्टीले नकारात्मक रूपमा नहरेको भन्दै अहिले पार्टीको नीति पर्ख र हेरको स्थितिमा रहेको नेपालको भनाई छ।