शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

ओलीको नेतृत्वमा उच्चस्तरीय संयन्त्र गठन

ओलीको नेतृत्वमा उच्चस्तरीय संयन्त्र गठन

काठमाडौं । हिजो बसेको सत्तारुढ दलहरुको शीर्ष वैठकले सरकारको न्यूनतम साझा कार्यक्रम ५ दिनभित्र तयार गर्न मस्यौदा समिति बनाउने निर्णय गर्यो । एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा उक्त समिति बनाइने समाचार सञ्चारमाध्यमहरुमा आए ।

तर, हिजै राति एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा स्टाटस लेख्दै उक्त समितिका संयोजक अर्थमन्त्री विष्णु पौडेल रहने बताएका छन् । साथै, सरकारको काम प्रभावकारी बनाउन ओलीको नेतृत्वमा उच्चस्तरीय संयन्त्र बनेको पनि उनले जानकारी दिएका छन् ।

हिजोको बैठकपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले भने दुवै विषयलाई मिसमास गरेर अधुरो सूचना दिएकाले सञ्चारमाध्यमहरुमा गलत विवरण प्रकाशित हुन पुगेको स्रोतले बतायो । उनले उच्चस्तरीय संयन्त्र नभनिकन सरकारको न्यूनतम कार्यक्रम बनाउन समिति गठन भएको र संयोजक ओलीलाई तोकिएको बताएका थिए ।

पौडेलको संयोजकत्वमा बनेको मस्यौदा समितिमा माओवादीबाट वर्षामान पुन, राप्रपाबाट डा। धवलशम्शेर राणा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा। मुकुल ढकाल सदस्य छन् । पाँच दिनको समय पाएको समितिले आजबाट काम थालेको छ । गठबन्धनको साझा कार्यक्रम पनि देशको अर्थतन्त्र सुधारमा केन्द्रित हुने अर्थमन्त्रीको सचिवालयले बतायो । अर्थतन्त्रमा देखिएको समस्या कसरी समाधान गर्ने भन्ने योजना सहितको कार्यक्रम आउने स्रोतको भनाइ छ ।

पछिल्लो समय देशको अर्थतन्त्र श्रीलंकापथमा गएको व्यापक चर्चा भएको थियो । विदेशी मुद्राको सञ्चितीमा दबाब पर्न नदिन उत्पादनमुखी अर्थतन्त्रमा जोड दिएर सरकारले आफ्नो न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने स्रोतले बताएको छ । अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रका विषयलाई लिएर विभिन्न क्षेत्रका प्रतिनिधिसँग भेटघाट गरिसकेका छन् । उनले सबैको समस्या समाधान गर्ने आश्वासनसमेत दिँदै आएका छन् ।