शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

आजबाट लुम्बिनीको संसद् अधिवेशन सुरु

आजबाट लुम्बिनीको संसद् अधिवेशन सुरु

रुपन्देही । लुम्बिनी प्रदेशका सांसदहरू आइतबार शपथ ग्रहण गरेसँगै आजदेखि अधिवेशन सुरु भएको छ । स्थायी राजधानी दाङको देउखुरीमा नवनिर्मित प्रदेश सभामा आज दिउसो १ बजेदेखि सदन बस्ने छ ।

सबै सांसदहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ खुवाएका छन् भने अब सभामुख र उपसभामुख छनौट नहुँदासम्म ज्येष्ठ सदस्यका हिसाबले एमालेका सांसद डिल्लीराज भुसालले अध्यक्षता गर्नेछन् । यसका लागि आइतबार नै प्रदेश प्रमुखले उनलाई जिम्मेवारी दिएका छन् ।

२०७७ असोज २० मा प्रदेशसभाले स्थायी राजधानी देउखुरी हुने निर्णय गरेको थियो । त्यसको २ वर्ष ३ महिनामा प्रदेश सरकारले प्रदेश सभा तयार गरेको हो । प्रदेश सरकारले यसअघि बुटवल मुकाममा रहेको मुख्यमन्त्रीसहितका अन्य केही मन्त्रालयसमेत यहाँ ल्याएर काम सुरु गरेसँगै देउखुरी राजनीतिक र प्रशासनिक केन्द्रमा परिणत भएको छ ।

प्रदेश सभाका सचिव दुर्लभ कुमार पुनले प्रदेश सभाका सबै कामसहित प्रदेश राजधानीका शासकीय काम सबै देउखुरीबाटै सुरु हुने बताए । प्रदेश सभामा १० दलको प्रतिनिधित्व भए पनि ८ दललाई संसदीय दलको कार्यालय उपलब्ध गराउनु पर्नेछ ।