मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

बाबु मार्न छोराले दिएका थिए सुटरलाई ३ लाख

बाबु मार्न छोराले दिएका थिए सुटरलाई ३ लाख

जनकपुरधाम । धनुषा मुखियापट्टी मुसहरनिया–३ का ४० वर्षीय धानुक दासको हत्यामा संलग्न २ जना सुटरलाई प्रहरीले सार्वजनिक गरेको छ । उनीहरू धनुषाकै जटहीका रञ्जित यादव र भारत विहार राज्यको खजुलीका आकाश भनिने सोनु मिश्रा पक्राउ परेका हुन् । 

उनीहरुलाई मंगलबार राति सीमावर्ती क्षेत्रबाट प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमाशंकरप्रसाद साह र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको प्रहरी स्रोतले बताएको छ ।

घरकै किराना पसलमा बसिरहेका दासमाथि यादव र मिश्राले पुस ९ गते साँझ अन्धाधुन्ध गोली हानेका थिए । गोली लागेर घाइते दासको उपचारका लागि जनकपुर पुर्‍याउन नपाउँदै मृत्यु भएको थियो ।

प्रदेश प्रहरी कार्यालयका एक अधिकारीले दिएको जानकारी अनुसार सुटर यादव र मिश्रालाई दासका छोरा प्रदीप दासले ५ लाख सुपारीको डिल गरेका थिए । उनीहरूले तीन लाख बुझिसकेको र दुई लाख दिन बाँकी रहेको बताइएको छ ।

सुटरसँग मृतक दासका छोरालाई डिल गराउने व्यक्ति उदय दास हुन् । मृतकका नातामा ज्वाइँ पर्ने उदय प्रदेश प्रहरी कार्यालय एमटी शाखाका हवलदार हुन् । हवलदार उदयमार्फत नै सुटरले तीन लाख रूपैयाँ लिएको पनि खुलेको छ ।

प्रदीप मृतक दासको जेठी श्रीमतीतर्फका छोरा हुन् । सम्पत्तिकै विवादका कारण उनले हवलदार उदयको सहयोगमा सुटर खोजेर बुवा धानुकको हत्या गराएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न हवदार उदय, मृतकका छोरा र श्रीमतीलाई समेत नियन्त्रणमा लिइसकेको छ । उनीहरूमाथि थप अनुसन्धान तथा कारबाही धनुषा प्रहरीले अगाडि बढाएको छ ।