मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

सेनाका उपरथी शाहीको घरमा छापा

सेनाका उपरथी शाहीको घरमा छापा

काठमाडौं । नेपाली सेनाका उपरथी प्रेम शाहीको घरमा छापा मारेको छ । बुढानीलकण्ठ नगरपालिका–२, भंगालस्थित उनको घरमा सैनिक प्रहरी गणको टोलीले बिहीबार दिउँसो छापा मारेको हो ।

सैनिक उच्च स्रोतका अनुसार अहिले पनि शाहीको घरमा टोली छ । शाहीले आफ्नो पदावधि एक वर्ष बाँकी रहेको दाबी गर्दै नेपाली सेनाको जंगीअड्डा र रक्षा मन्त्रालयविरुद्ध ७ पुसमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनको पक्षमा अदालतले आदेश दिएसँगै उनी हाजिर हुन जंगीअड्डा जाने तयारीमा थिए । तर, उनलाई सैनिक प्रहरी गणले मंगलबार नियन्त्रणमा लिएर हिरासतमा राखेको छ ।

हालसम्म शाहीको घरमा त्यस्ता कुनै कागजात नभेटिएको स्रोतले बताएको छ । शाही यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापाका नजिकका अधिकृत मानिन्थे । उनको शैक्षिक प्रमाण पत्रमा दुईथरी उमेर देखिएको थियो । सैनिक मुख्यालयको अभिलेख अनुसार उनी २० पुसमा अवकाशमा जाँदै थिए ।

अवकाशको १५ दिनअघि बिदा बस्ने परम्परा अनुसार उनी बिदामा बसेका थिए । त्यही बीच अदालतले उनको एक वर्ष जागिर लम्बिने गरी अन्तरिम आदेश दिएको थियो ।