मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

तारा एयरले गर्दैछ आज रेसुङ्गा विमानस्थलमा डेमो उडान

तारा एयरले गर्दैछ आज रेसुङ्गा विमानस्थलमा डेमो उडान

रुपन्देही । गुल्मीको रेसुङ्गा विमानस्थलमा आज डेमो उडान हुँदैछ । यसको तयारीका लागि काठमाडौंमा रहेका सबै दलका मुख्य नेताहरु सोही उडानबाट त्यहाँ पुग्दैछन् ।
रेसुङ्गा नगरपालिकास्थित सिमिचौरमा निर्माण सम्पन्न भएको विमानस्थलमा तारा एयरको विमानले डेमो उडान गर्दैछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्वीनअटर जहाज बिहान १०ः३० मा गुल्मी प्रस्थान गर्नेछ ।

तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु समेत जहाजमा रहने भएका छन् । यो जहाज रेसुङ्गा विमानस्थलमा झण्डै १ घण्टा रहने र त्यसपछि पुनः काठमाडौं फिर्ता हुनेछ ।

डेमो उडान गरेसँगै नियमित उडानका लागि प्रक्रिया थालिने भएपनि नियमित उडानका लागि केही समय लाग्नेछ । यो अवसर यस अवसरमा रेसुङ्गा नगरपालिका कार्यालयमा बिदा दिइएको छ ।

रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले नगरपालिकाको समन्वयमा विमानस्थलमा परीक्षण उडान गर्न लागिएकाले आइतबार नगरपालिकाका सम्पूर्ण सेवा बन्द हुने जनाएका छन् ।

विमानमा गुल्मी १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारी, पूर्वमन्त्री तथा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, पूर्वमन्त्री रामकुमारी झाँक्री, प्रदेश सांसद धनेन्द्र कार्की, रेसुंगाका मेयर खिलध्वज पन्थी, कांग्रेस नेता योगराज कंडेल काठमाण्डौबाट तारा एयरको सो विमानबाट विमानस्थल पुग्नेछन् । गुल्मी २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गोकर्ण विष्ट भने अस्वस्थताका कारणले नजाने भएका छन् ।