शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

वागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जम्कट्टेल

वागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जम्कट्टेल

हेटौंडा । वागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जम्कट्टेल नियुक्त भएका छन् । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं संसदीय दलका नेता समेत रहेका जम्कट्टेललाई आज सोमबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले जम्कट्टेललाई नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । जम्कट्टेल प्रदेशको चौथो मुख्यमन्त्री बनेका छन् ।

उनलाई एमालेको २७, माओवादी केन्द्रको २१ ,राप्रपाको १३, समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सहित ७० जनाको समर्थन छ । २०३० सालमा धादिङको किरणचोक गाविसमा जन्मिएका जम्मकट्टेलले २०४४ मा अखिल छैठौँमा आबद्ध भएर राजनीतिक जीवनको सुरूवात गरेका थिए । २०४८ सालबाट मजदुर आन्दोलनमा सक्रिय उनी माओवादीले थालेको जनयुद्धमा सुरूदेखि नै होमिए । २०६० बाट करिब एक दशक माओवादीको मजदुर संगठनको नेतृत्व सम्हालेका जम्कट्टेल २०६३ को अन्तरिक संसद भए भने २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन एमालेका प्रभावशाली नेता राजेन्द्र पाण्डेलाई पराजित गर्दै विजयी बनेका थिए ।

२०७० को दोस्रो संविधानसभामा उनै पाण्डेसँग पराजित भएका जम्कटेल त्यस यता भएको दुवै प्रदेशसभामा विजयी भएका छन् । २०७४ मा भएको प्रदेशसभा निर्वाचनमा माओवादीबाट विजयी भएर संसदीय दलको नेता बनेका उनी प्रदेशको पहिलो मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारमा आन्तरिक मामलिा तथा कानून मन्त्री तथा यसअघि कांग्रेसको नेतृत्वमा रहेको पाँचदलीय गठबन्धनको राजेन्द्र पाण्डे नेतृत्वको सरकारमा पनि कानूनमन्त्री नै बनेका थिए ।