बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

टिकटक लाइभमै जुवा खेलाउने थालेपछि...

टिकटक लाइभमै जुवा खेलाउने थालेपछि...

काठमाडौं । टिकटकमार्फत अनलाइन जुवा खेलाउने एक जना पक्राउ परेका छन् । रुकुम पूर्वको पुथा गाउँपालिका–५ घर भई ललितपुर हरिसिद्धि बस्ने ३५ वर्षीय हरिसचन्द्र मल्ललाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

उनले आफ्नो ई-सेवालगायत अन्य डिजिटल वालेटमा विभिन्न व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाई टिकटक लाइभमार्फत् जुवा खेलाएको सूचनाका आधारमा काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

मल्लले ‘क्विक क्यास’ नामक टिकटक आइडीहरू खोली दुईवटा इ-सेवा वालेटमा विभिन्न व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाई १५ दिनको अवधिमा ८ लाख ५३ हजार ३३१ बराबरको रकम टिकटक लाइभ जुवामार्फत् कारोबार गरेको खुलेको छ ।

उनको साथबाट जुवातास खेलाउन प्रयोग भएको स्मार्टफोन एक थान, तास खेल्ने व्यक्तिहरूको नाम र रकम उल्लेख भएको रजिस्टर एक थान र जुवा खेलाउन प्रयोग भएका तास तीन बुक प्रहरीले बरामद गरेको छ । उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।