शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित

प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित

 

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । बिहीबार प्रतिनिधिसभामा भएको निर्वाचनमा उनले विपक्षी गठबन्धनका तर्फबाट कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेलाई पराजित गरेका हुन् । घिमिरेले १६७ मत प्राप्त गर्दा न्यौपानेले १०० मत प्राप्त गरेकी छन् ।

बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले बहुमत प्राप्त गरेकाले घिमिरेलाई निर्वाचित भएको घोषणा गरे । आजको मतदान प्रक्रियामा कुल २६८ सांसद उपस्थिति भएकोमा एकजनाले पक्ष विपक्ष कतै मत दिएनन् ।

घिमिरेको प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ, समर्थकमा माओवादीका हितराज पाण्डे, राप्रपाका राजेन्द्रप्रसाद लिङदेन र रास्वपाका रवि लामिछाने थिए । घिमिरे झापा २ बाट निर्वाचित सांसद हुन् ।