मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

सीआईबीको निष्कर्षः टी–२० लिगमा स्पट फिक्सिङ भएको देखियो

सीआईबीको निष्कर्षः टी–२० लिगमा स्पट फिक्सिङ भएको देखियो

काठमाडौं। गत साता सम्पन्न नेपाल टी २० लिगमा स्पट फिक्सिङ भएको निष्कर्ष केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले निकालेको छ। सीआईबी प्रमुख उत्तरमराज सुवेदीले केहीविरुद्ध मुद्धा चल्ने अवस्था रहेको बताए। ‘त्यसमा खेलाडी, म्यानेजर,अफिसियल जो पनि हुन सक्छन्,’ एआईजी सुवेदीले भने। सुवेदीले स्पट फिक्सिङ विवादसम्बन्धमा भएको छानबिनबारे सोमबार प्रतिवेदन सार्वजनिक गरिने बताए।

‘आइतबार प्रतिवेदन सार्वजनिक गर्ने तयारी थियो तर सार्वजनिक बिदा रहेछ। त्यसैले सोमबार सार्वजनिक हुनेछ,’ उनले भने। नेपाल टी(२० लिगमा स्पट फिक्सिङका लागि अप्रोच भएको भन्दै कमेन्टेटर सचेन तिमल्सिनाले प्रतियोगिताबीचमै छाडेका थिए।

राष्ट्रिय टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टोलीका एक खेलाडीलाई फिक्सिङका लागि अप्रोच भएको बताएपछि प्रतियोगिता चरम विवादमा परेको थियो। प्रतियोगिता आयोजनाको जिम्मा पाएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सका अधिकारी प्रतियोगिताको बीचमै घर फर्किएका थिए। प्रतियोगितामा सहभागी सबै ६ टोलीका खेलाडीले पारिश्रमिक पाएका छैनन्। एक खेलाडीका अनुसार नेपाल क्रिकेट संघ (क्यान)ले ६ महिनाभित्र पारिश्रमिक उठाई दिने प्रतिबद्धता जनाएको छ।

टेन्डर प्रकृया विना सेभेन थ्री स्पोर्ट्सलाई नेपाल टी–२० ८ वर्षका लागि आयोजना गर्न दिइएपछि सुरुवातदेखि नै यो प्रतियोगिता विवादमा परेको थियो। सीआईबीले स्पट फिक्सिङमा संलग्न रहेकाको नाम गोप्य राखेको छ। फिक्सिङको शंकापछि आईसिसीको एन्टि करप्सन कमिटीको टोली पनि नेपाल आइपुगेको थियो।

प्रतियोगितामा एन्टी करप्सन हेरिरहेको युनिटले उनीहरुलाई स्पट फिक्सिङबारे रिपोर्ट गरेको थियो। प्रतियोगिता दौरान शंकास्पद व्यवहार गर्नेलाई तत्कालै जिम्मेवारीबाट हटाइएको क्यानको दावी छ। सीआईबी स्रोतका अनुसार सेभेन थ्री स्पोर्टसका अधिकारीविरुद्ध पनि मुद्धा चल्न सक्ने स्थिति रहेको छ।