शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

उपसभामुखमा इन्दिरा रानामगर विजयी

उपसभामुखमा इन्दिरा रानामगर विजयी

 

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा सत्तारुढ गठबन्धनकी उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर विजयी भएकी छन् ।

प्रतिनिधिसभाको शनिबारको बैठकमा राष्ट्रिय स्वतन्त पार्टीकी सोबिता गौतमले राखेको इन्दिरा रानामगरलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए ।

सभामुख घिमिरेका अनुसार उक्त प्रस्तावको पक्षमा १६६ मत, विपक्षमा ९७ मत र मत दिन्नँ भन्नेमा १ मत परेको छ । बैठकमा २६४ जना सांसदको उपस्थिति रहेकोले रानामगरले पाएको मतले उनलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको सभामुख घिमिरेले जानकारी दिए ।

सत्तारुढ गठबन्धनकी उम्मेदवार रानामगरलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएसँगै नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी मुक्ताकुमारी यादवलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिरहनुनपर्ने सभामुख घिमिरेले जानकारी दिए ।

उपसभामुख पदमा दुईजनाको उम्मेदवारी परेको थियो । उपसभामुखमा सत्तारुढ गठबन्धनबाट इन्दिरा रानामगर र कांग्रेसबाट यादवले उम्मेदवारी दर्ता गरेकी थिइन् ।

रानामगरको प्रस्तावकमा रास्वपाकी सोविता गौतम र समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन थिए ।

रानामगरको पक्षमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत, जसपा, नागरिक उन्मुक्ति पार्टीको समर्थन थियो ।

यता कांग्रेसबाट उम्मेदवार बनेकी मुक्ताकुमारी यादवको प्रस्तावकमा कांग्रेसका बद्रीप्रसाद पाण्डे र समर्थकमा लोसपाका सर्वेन्द्रनाथ शुक्ला र एकीकृत समाजवादीका मेटमणि चौधरी थिए ।

यादवलाई कांग्रेस, एकीकृत समाजवादी, लोसपा, जनमोर्चाको समर्थन थियो ।  नेमकिपाले सभामुखका दुवै उम्मेदवारलाई मत दिन्न भन्नेमा मत दिएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक १० माघ मंगलबार दिउँसो १ बजे बस्नेछ ।