मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

क्रिकेटमा स्पट फिक्सिङः ६ देखि १० लाखसम्मको अफर

क्रिकेटमा स्पट फिक्सिङः ६ देखि १० लाखसम्मको अफर

काठमाडौं । काठमाडौंमा हालै सम्पन्न नेपाल टी–२० मा स्पट फिक्सिङका लागि खेलाडीलाई ६ देखि १० लाखसम्मको अफर गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ । स्पट फिक्सिङमा चार जना टीम व्यवस्थापकहरूसमेत संलग्न भएको आज सीआइबीद्वारा आयोजित पत्रकार सम्मेलनमा बताइयो ।

सीआईबीका कार्यवाहक प्रवक्ता एसपी सञ्जयसिंह थापाले फिक्सिङमा जम्मा १० जना संलग्न देखिएको जानकारी दिए । तर, पक्राउ परिसकेका दुईजनाबाहेक बाँकी व्यक्तिहरूको नाम उनले बताएनन् ।

‘अनुसन्धान प्रभावित हुन सक्ने र पक्राउ गर्न कठिनाइ पर्न सक्ने भएकाले अरुको नाम गोप्य राखिएको हो,’ उनले भने । खेलाडीहरूलाई सामाजिक सञ्जालबाट तथा प्रत्यक्ष भेटेर अप्रोच गरिएको उनले बताए ।

‘एउटा स्पट फिक्सिङमा, कुनै गेमको कुनै एउटा ओभरमा नोबल फ्याकेको वा निश्चित रन लिएको अवस्थामा ६ देखि १० लाख दिनेगरी अप्रोच आएको देखिन्छ,’ उनले भने ।

स्पट फिक्सिङमा नेपाल क्रिकेट संघको कुनै भूमिका नदेखिएको थापाले उल्लेख गरे ।