बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

‘नेपाली गर्ल’ एप बनाएर लाखौँ ठगी गर्ने गिरोह पक्राउ

‘नेपाली गर्ल’ एप बनाएर लाखौँ ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं– ‘नेपाली गर्ल’ एप बनाएर बैंक खातामा रहेको रकम चोरी गर्ने गिरोह पक्राउ परेका छन्। ठगी गर्ने गिरोह उक्त एप बनाएर एपमार्फत् बैंकको सम्पूर्ण विवरण लिएर रकम चोरी गर्ने गरेको पाइएको छ। 

उक्त एपमार्फत् ५० लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरले ८ जनालाई पक्राउ गरेको छ। पक्राउ गरिएका ८ जनालाई शुक्रबार पत्रकार सम्मलेन गर्दै सार्वजनिक गरिएको छ। 

पक्राउ पर्नेहरूमा भारतको बिहार प्रदेश सितामढी जिल्ला मधुरापुर–७  बाजपट्टी थानाका २९ वर्षीय अवधेश कुमार, सप्तरीको कृष्णासवरन गाउँपालिका–२ का ३४ वर्षीय दिलिप कुमार चौधरी, पर्साको बिन्दावासिनी–८ का ३३ वर्षीय अजय चौधरी भनिने नगेन्द्र साह कानु, रौतहटको रंगपुर नगरपालिका–१ का २७ वर्षीया रविना चौधरी, बाराको कोल्हवी नगरपालिका–४ का सन्तोष कुँवर, पर्साको वीरगञ्ज महानगरपालिका–२५ का २८ वर्षीय राजु पटेल, सोही ठाउँका २० वर्षीय साहिल परबेज र सोही ठाउँका १९ वर्षीय शिवशंकर राउत छन्।

उनीहरूले विभिन्न व्यक्तिको ह्वाट्एपमा ‘नेपाली गर्ल’ नामक एपको लिंक पठाउने र नेपाली युवतीहरू चाहिएको भएमा एप डाउनलोड गर्नुहोस् भन्दै म्यासेज गर्ने गरेका थिए। उक्त एप डाउनलोड गर्न लिंकमा क्लिक गर्नासाथ मोबाइलमा भएका सम्पूर्ण विवरणहरू उनीहरूको मोबाइलमा जाने गरेको थियो। मोबाइलमा डाउनलोड गरिएको विभिन्न बैंकका एपहरू तथा सेभ गरिएका पासवर्डहरू समेत उनीहरूको मोबाइलमा पुग्ने गरेको थियो। त्यसपछि उनीहरूले रकम आफ्नो खातामा ट्रान्सर्फर गर्ने गरेको पाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शिद्धिविक्रम शाहले जानकारी दिए।