शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

राष्ट्रपति भण्डारी भोजपुर जाँदै

राष्ट्रपति भण्डारी भोजपुर जाँदै

भोजपुर । राष्ट्रपति विद्यादेवी भण्डारी भोलि गृहजिल्ला भोजपुर जाँदै छिन्। जिल्लाको उत्तरी षडानन्द नगरपालिकास्थित बालागुरु षडानन्द अधिकारीको जन्मथलो दिङ्ला र सामाजिक अभियन्ता योगमाया न्यौपानेको कर्म तथा समाधिस्थल मझुवाबेँसी र गौंडेनीको भ्रमणका लागि राष्ट्रपति भण्डारी जान लागेकी हुन् ।

षडानन्दका मेयर सुरेन्द्रकुमार उदासका अनुसार राष्ट्रपतिले न्यौपानेको षडानन्द नगरपालिका–१ स्थित मझुवामा रहेको प्रतिमामा माल्यार्पण गर्ने छिन् । साल्पासिलिछो गाउँपालिका–१ गौंडेनीमा रहेको पशुपतिनाथको मन्दिरमा पूजाआजाको पनि कार्यक्रम छ ।

त्यसपछि राष्ट्रपति भण्डारीले षडानन्द गुरुको जन्म घडेरीमा नवनिर्मित बालागुरुको सालिक अनावरणसँगै कैलाश डाँडामा रहेको गुरुकुल र जनस्तरबाट स्थापना गरिएको नेपालको पहिलो पाठशाला षडानन्द माध्यमिक विद्यालय र त्यसको नजिकै रहेको अरुण माविको समेत अवलोकन गर्ने मेयर उदासले जानकारी दिए ।

राष्ट्रपतिको भ्रमण सफल पार्न पालिकाबासीको उपस्थितिका लागि अनुरोधसहित साल्पासिलिछो गाउँपालिकाले सार्वजनिक बिदासमेत दिएको छ । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्की पनि भोजपुर आउने तय भएको छ ।

यसअघि राष्ट्रपति भण्डारीले मंसिर २८ गते आफ्नो जन्मगाउँ रामप्रसादराई गाउँपालिका५ आमबोटेमा निर्मित श्रीराम मिथिला बहुप्राविधिक शिक्षालयको उद्घाटन गरेकी थिइन् ।