शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

भ्रष्टाचारमुक्त र सदाचारयुक्त समाज निर्माण गर्नुपर्छः प्रधानमन्त्री प्रचण्ड

भ्रष्टाचारमुक्त र सदाचारयुक्त समाज निर्माण गर्नुपर्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार र अनियमित्तालाई निर्मुल गरेर मात्र विकास सम्भव भएकाले त्यसमा सबै सरकारी संयन्त्र प्रतिवद्ध भएर लाग्न आवश्यक रहेको बताएका छन् । भ्रष्टाचार मुक्त र सदाचारयुक्त समाज निर्माणमा लाग्न उनले सबैलाई आग्रह गरे । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं वार्षिकोत्सवको अवसरमा शनिबार यहाँ आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले त्यस्तो बताए । भ्रष्टाचारविरुद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुने प्रतिवद्धता जनाए । भ्रष्टाचार विरुद्धको विश्वव्यापी अभियानमा सरकार दृढ संकल्पित रहेको उनले बताए । 

भ्रष्टाचार अन्त्य गर्न ऐनमा आवश्यक परिमार्जन गर्न पनि सरकार तयार रहेको चर्चा गर्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले सबै कर्मचारी त्यसमा सहयोग गर्ने विश्वास व्यक्त गरे । भ्रष्टाचार निर्मूलका लागि सबैको हातेमालो आवश्यक रहेकाले सरकारले लिएका लक्ष्यमा साथ सहयोग गर्न उनले सबैमा आग्रह गरे । 

आयोगको सक्रिय भूमिकाले भ्रष्टाचार नियन्त्रण, नागरिकको अधिकार सुनिश्चित्तामा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । आयोगलाई आगामी दिनमा अझ गतिशील बनाएर अघि बढ्न आवश्यक रहेको उनले बताए । स्रोत र जनशक्ति परिचालनमा सरकारको सबै सहयोग रहने उनले प्रतिवद्धता व्यक्त गरे । सरकारलाई आएको सुझाव कार्यान्वयन गर्नमा सरकार हरपल तयार रहेको उनले प्रष्ट पारे ।

तीनै तहका सरकार, नागरिक समाज, सञ्चार जगत सबैको निरन्तर समन्वय, सहयोगको आश्यकता भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार विरुद्धको लडाईमा आयोगले खेलिरहेको भूमिका प्रसंशनीय रहेको उनले बताए । वार्षिकोत्सवको अवसरमा उनले सबैलाई शुभकामना व्यक्त गरे ।