शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

चिनियाँ राजदूत बालकोट पुगे

चिनियाँ राजदूत बालकोट पुगे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटेलगत्तै चिनियाँ राजदूत चेन सोङ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता भएको छ ।

राजदूत सोङ ओलीलाई भेट्न बालकोट पुगेका थिए । ओली र चिनियाँ राजदूतबीच समसामयिक बिषयमा कुराकानी भएको सचिवालयले जनाएको छ ।

सत्ता गठबन्धनमा अविश्वास बढ्दै गइरहेको बेलामा राजदूत सोङको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

पुस १० गतेको सहमति अनुसार माओवादीले एमालेलाई सहजै राष्ट्रपति नदिने अडान लिएपछि गठबन्धन असन्तुष्टि बढेको छ । प्रचण्डसँगको आजको भेटमा ओलीले पूर्वसहमति अनुसार नै हुनुपर्ने अडान लिएका छन्। बिहीबार पनि बालुवाटार दुई घण्टा वार्ता भएको थियो ।

दुवैले अडान नछोड्दा अझै सहमतिको मिलनबिन्दु भेट्न सकेका छैनन् । तर, बालकोटबाट बाहिने क्रममा प्रचण्डले गठबन्धन नटुट्ने दाबी गर्दै राष्ट्रपतिको बिषयमा केही दिनमै टुंगो लाग्ने बताएका थिए ।

प्रधानमन्त्रीसँग ओलीको अविश्वासको बढ्दै गएपछि हौसिएको कांग्रेसले आफूले प्रस्ताव गरेको व्यक्ति नै राष्ट्रपति बन्ने दाबी गर्दै आइरहेको छ ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले राष्ट्रपतिमा माओवादीले आफ्नो उम्मेदवारलाई सघाउने र त्यसको बदलामा ‘प्रचण्ड’ पाँचै वर्ष प्रधानमन्त्री दिने बताइसकेका छन् ।

कांग्रेसले सरकारलाई विश्वासको मत दिएपछि परिस्थिति फेरिएको भन्दै माओवादीले अहिले राष्ट्रिय सहमतिको अडान लिएको छ ।

माओवादीलाई पाँच दलीय गठबन्धन ब्युँताउने संकल्प गरेको कांग्रेससहित नेकपा एकीकृत समाजवादी, जसपालगायतका दलहरुले राष्ट्रिय सहमतिको अडानमा साथ दिएका छन् । त्यसैले सत्ता गठबन्धनमा अविश्वास बढ्दै गइरहेको छ ।

राष्ट्रपतिको निवार्चनलाई लिएर विदेशी शक्तिहरू पनि सक्रिय भएर लागेका छन्। दलहरुबीच सत्ताको आन्तरिक चलखेल भइरहेको वेला भारत, अमेरिकालगायतका उच्च अधिकारीहरुको पनि ओहोरदोहोर बाक्लो छ ।

नेपालको सरकार गठनमा चासो राख्दै आएको भारतले अकस्मात प्रचण्ड प्रधानमन्त्री बनेपछि थप चासोका साथ हेरेको छ । कम्युनिष्ट सरकारप्रति चीन सकारात्मक भए पनि भारत पुरानै गठबन्धनको पक्षमा देखिन्छ ।

यसअघि सत्ता गठबन्धनमा खटपट भइरहेको वेलामा दक्षिणी छिमेक भारतका विदेशसचिव विनयमोहन क्वात्रा सोमबार आएर उच्चस्तरीय भेटघाटमा गरेका थिए ।

क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालदखि लोसपा अध्यक्ष महन्थ ठाकुरसम्मलाई भेटेका थिए ।

उनले भावी राष्ट्रपतिको रूपमा लोसपा अध्यक्ष ठाकुर र कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नाम नै दिएको गएको चर्चा छ।