शनिबार १२ साउन, २०८१ | Saturday, July 27, 2024

जेल चलान भएका शिक्षकको तलब ३ वर्षदेखि बुज्दै जनक माविका हेडसर

जेल चलान भएका शिक्षकको तलब ३ वर्षदेखि बुज्दै जनक माविका हेडसर

ललितपुर । 
ललितपुरको बागमती गाउँपालिका–७ गिम्दीमा रहेको श्री जनक माध्यमिक विद्यालयका प्रधानाध्यापक गोकर्ण बहादुर फुयालले एक राहात शिक्षकको नाममा गैर कानुनी रुपमा तलब बुझिलिएको पाईएको छ । प्रअ फुयालले ३ वर्षदेखी यस्तो गर्दै आईरहेको बताईएको छ । 

उक्त विद्यालयका राहात प्रावि शिक्षक रवि केप्छाकी मगर ३ वर्षअघि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परी ललितपुर जिल्ला अदालतले दोषी ठहर गरी जेल चलान भईसकेको छ । 

मगर जेल परेको जानकारी पालिकाको शिक्षा शाखामा दिनु पथ्र्याे तर प्रअ फुयालले भने त्यस्तो प्रक्रिया नपुर्‍याई गलत मनसाय राखेर नियमित जस्तै पालिकामा मगरको पनि तलबको माग फाराम भरेर तलब मागेको र सोही अनुसार पालिकाले तलब पठाईरहेको पाईएको छ । विद्यालयले पालिकासँग प्रत्यक ३/३ महिनामा शिक्षकलाई तलब खुवाउन एक मुष्ट रुपमा माग फाराम भरी तलब माग गर्ने गर्दछ । 

प्रअ फुयालको गतिविधि विरुद्ध केही स्थानीयहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी लिएर गएका छन् । यस विषयमा प्रअ फुयालले आफूले जेल परेका शिक्षकको तलब माग गरेको स्विकार गरेका छन् । 

‘शिक्षक जेल परे । उनी फर्केर आउँला भनेर तलब माग गरेको हो । तर उनको नामको तलब रकम विद्यालयको कोषमै रहेकोे छ । हिनामिना भएको छैन’, उनले भने । उनको भनाईले विद्यालयमा भौतिक उपस्थित भई नपढाएका शिक्षकको नाममा ३ वर्षसम्म माग फाराम भरेर तलब माग्नुले प्रअ फुयालको मनसाय प्रष्टै बुझ्न सकिन्छ । फुयाल नेपाली काङ्ग्रेस निकट नेपाल शिक्षक संघ बाग्मती गाउँपालिकाका अध्यक्ष समेत हुन् ।

अनुसन्धानको क्रममा प्रहरीले ती शिक्षकको तलब रोक्नू भन्ने प्रकृतिको पत्राचार भएपनि त्यसलाई बेवास्त गरी माग फारम भरी तलब लिईरहनुमा अनियमितता भएको छैन भनि मान्न सकिने केही आधार देखिँदैन । 

ती शिक्षक जेल परेको थाहा पाएपछि पालिकाको शिक्षा शाखाले गएको कार्तिक महिनादेखि उनको नाममा रहेको तलबी रकम नपठाएको एक कर्मचारीले बताए । प्रअ फुयालले ती शिक्षकको नाममा मात्रै करिब ७ लाख रुपैयाँ तलब रकम लिएको देखिएको शिक्षा शाखाका ती कर्मचारीले बताए । 

त्यस्तो घटना घटेको थाहा पाएको दिनदेखिनै आफूहरुले चनाखो भएर तलब नपठाएको पालिकाका प्रशासकीय अधिकृत रामदत्त भट्टले जानकारी दिए । ‘म आउनु अघिको घटना रहेछ । मैले थाहा पाएको दिनमै तलब नपठाउन भनेको हो । यो वर्षको कार्तिकदेखि तलब पठाएको छैन ।’, उनले भने । 

यो विषय सार्वजनिक भएपछि विद्यालय व्यवस्थापन समितिको वैठक बसेर त्यो फिर्ता गर्ने, वेरुजुमा राख्ने वा सो रकम बराबरको रकम घटाएर विद्यालयमा तलब दिने भन्ने विषयमा निर्णय भएको स्रोतले बताएको छ । 

समितिका अध्यक्ष लक्ष्मण लामिछानेले आफूहरुले बैठक बसेर विभिन्न निर्णय गरेको बताए । उक्त रकम फिर्ता हुनु पर्छ भन्ने आवाज उठेको उनले बताए । शिक्षक जेल परेर विद्यालयमा नपढाएका दिन ३ वर्षसम्म पनि अरुलाई थाहा नभएसम्म तलब माग्नु, प्रहरीको पत्रलाई वेवास्त गरी तलब माग्नु, जेल परेको सूचना नदिनु, विद्यालयको कोषमा रहेको भन्नुले उक्त रकम दुरुपयोग भएन भन्न नमिल्ने देखिन्छ ।