शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

नेकपा एस र जसपाका नेताहरू देउवा निवासमा

नेकपा एस र जसपाका नेताहरू देउवा निवासमा

काठमाडौं । राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनको मनोनयन नजिकिँदै गर्दा नेताहरूको दौडधुप बढेको छ । यहीबीच नेपाली कांग्रेस, नेकपा एस र जसपाका नेताले भेटघाट गरेका छन् । नेकपा एकीकृत समाजवादीका केही नेता कांग्रेस सभापति शेरबहादुर देउवाको निवास अहिले धुम्वाराही पुगेका छन् । सचिवालय बैठकलगत्तै महासचिव वेदुराम भुसाल, घनश्याम भुसाल, प्रवेश हमाल त्यहाँ पुगेका हुन् ।

जसपा अध्यक्ष उपेन्द्र यादव पनि केहीबेर छलफल गरेर भर्खरै बाहिरिएका छन् । यादवले सामान्य गफगाफ मात्र भएको बताए । ‘व्यक्तिबारे केही कुरा भएको छैन । सामान्य गफगाफमात्र भएको हो’, यादवले नेपाल प्रेसलाई छोटो प्रतिक्रिया दिए ।

सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतका नेता भेटवार्तामा सहभागी रहेको स्रोतले बताएको छ । केहीबेरमा अध्यक्ष माधवकुमार नेपाल पनि जाने तयारीमा छन् ।

भेटघाट राष्ट्रपति निर्वाचनमा केन्द्रित रहेको बताइएको छ ।

नेकपा एसको आज बसेको सचिवालय बैठकले कांग्रेस, माओवादीसहितका दलहरूसँगको छलफलपछि मात्रै राष्ट्रपतिबारे निर्णय लिइने निर्णय गरेको थियो ।