शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

आठ दलीय गठबन्धन छैन– ओली

आठ दलीय गठबन्धन छैन– ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आठ दलीय गठबन्धन नबनेको दाबी गरेका छन्। राष्ट्रपतिमा पार्टीको तर्फबाट सुवास नेम्वाङको उम्मेदवारी दर्तापछि उनले भने, ‘आठ दलीय गठबन्धन छैन। हिजो प्रधानमन्त्रीले केही दललाई बोलाउनुभएको थियो। हामी सम्पर्कमै छौँ। कांग्रेसलाई समर्थन गर्ने कुरा प्रचण्डजीले कसरी भन्नुभयो उहाँको कुरा। हामीले जानकारी पाएअनुसार त्यस्तो हुँदैन।’

उनले राष्ट्रपतिमा आफूहरूले अनुभवी व्यक्तिलाई अगाडि सारेको बताए। उनले भने, ‘दलीय स्वार्थका लागि नभएर राष्ट्रिय हितको लागि संविधानको रक्षा र कार्यान्वयनका लागि यो उम्मेदवारी उठाएको हौँ। हाम्रो उम्मेदवारी सर्वत्र स्वीकार्य हुन्छ। हामी अत्यधिक मतका साथ विजयी हुन्छौँ। हाम्रो उम्मेदवार कुनै दाउपेचको उम्मेदवार होइन।’

राष्ट्रपतिमा पुस १० गते भएको सहमति अनुसार आफूहरूले उम्मेदवारी दिएको बताए। त्यही सहमति अनुसार नेकपा माओवादी केन्द्रले पनि आफूहरूलाई सहयोग गर्ने विश्वास व्यक्त गरे।

प्रचण्डसँग कहाँ बिग्रियो जस्तो लाग्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘कहिँपनि बिग्रिएको छैन। त्यो २५ गते थाहा हुन्छ। पूर्व सहमति अनुसार हामीले उम्मेदवारी दिने भन्ने थियो। त्यही अनुसार दिएका हौँ।’