शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

रामचन्द्र पौडेलका लागि ओलीसँग काँग्रेसले माग्यो भोट

रामचन्द्र पौडेलका लागि ओलीसँग काँग्रेसले माग्यो भोट

काठमाडौं । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि नेपाली कांग्रेसले एमालेलाई औपचारिक रूपमा भोट मागेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पार्टी सभापति शेरबहादुर देउवाको तर्फबाट पत्र लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सहयोग मागेका हुन् ।

देउवाको पत्र बुझेपछि ओलीले कांग्रेसले राष्ट्रपतिमा अगाडि सारेको रामचन्द्र पौडेलप्रति आफू नकारात्मक नरहेको जवाफ दिएको मुख्यसचिव पौडेलले बताए । ओलीको भनाइ उद्धृत गर्दै पौडेलले भने, ‘हामीले पुरानो पुस्ताले राजनीतिलाई ट्र्याकमा ल्याएर छोड्न पाए हुन्थ्यो ।’

उनले आफूले लोकतन्त्रको लागि त्याग गरेको मान्छेलाई राष्ट्रपतिमा भोट हाल्न र सर्वसम्मत गराउन आग्रह गरेकोसमेत बताए । पौडेलले भने, ‘उहाँ (ओली) ले नकारात्मक कुनै कुरा गर्नुभएन । उहाँले रामचन्द्रजी मसँगै जेल बसेको साथी हो । उहाँप्रति म नकारात्मक छैन भन्नुभयो ।’

त्यसो त नेता पौडेलले पनि राष्ट्रपतिमा उम्मेदवारी दर्तापछि ओली आफ्नो जेलमा बस्दाको साथी भएकाले फागुन २५ गतेसम्ममा आफूलाई सहयोग गर्ने अपेक्षा रहेको बताएका थिए ।

नेता पौडेलले भनेका थिए, ‘एमाले अध्यक्ष केपी ओलीजी पनि मसँग जेलमा बस्नुभएको हो धेरै समय । पुरानो साथी हो । राष्ट्रपति पदलाई सबैको साझा पद बनाउनलाई उहाँले योगदान गर्नुहोला भन्ने मैले विश्वास गरेको छु ।’