बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

डाँका गर्दै हिँडेका ५ जना हतियारसहित पक्राउ

डाँका गर्दै हिँडेका ५ जना हतियारसहित पक्राउ

जनकपुरधाम । डाँका गर्दै हिँडेको आरोपमा हातहतियार र लुटपाटका सामानसहित धनुषामा ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बस्ने वर्ष ३७ का रजाक मोहमद, विदेह नगरपालिका न।४ सुन्दरपुर बस्ने वर्ष २९ का मोहमद हबगुल्ला साह, वर्ष २२ का नर्सुदिन साह, वर्ष ३० को सरिफ मुसलमान, कमला नगरपालिका ७ हथमुन्डा बस्ने वर्ष २२ का रमेश कुमार महतो छन् ।

उनीहरुलाई धनुषा प्रहरीले आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । धनुषाको रमदैयास्थित राजदेवी मन्दिरमा फागुन १४ गते राति ताला तोडेर देवीको चाँदीको मुर्ती, मुकुट अर्धवृत्त आकारको वस्तु (पाता), गिलास र सुनको मंटिका, नथिया, सिक्रि, कानको झुम्का लगायतको सुन चाँदीको सर सामानहरू चोरी भएको थियो ।

सोही सोधखोज र अनुसन्धानमा उनीहरुलाई चोरीको सामान र डाँका गर्ने हातहतियार समेत बरामद गरेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । उनीहरुले जनकपुरधाम उपमहानगरपालिका १२ कुवा स्थित हनुमान मन्दिरमा समेत चोरी गरेको खुलेको एसपी खड्काले बताए ।

एसपी खड्काका अनुसार उनीहरुको साथबाट मुर्ती सहित चाँदीको पिढी २ किलो, चाँदीको मुकुट २५ तोला, चाँदीको झाप १ किलो, चाँदीको थाली ५०० ग्राम, चाँदीको लोटा १५ तोला, चाँदीको घण्टि १२ तोला, सुनको मनटिका ६ अना, सुनको नथिया १० अना, सुनको सिक्रि ४ अना, सुनको नाकको टप १ अना, सुनको कानको बाली ६ अना, चाँदीको मुर्तीको टुक्रा र मुकुटको टुक्रा समेत गरी २ किलो बरामद भएको छ । पासपोर्ट थान–१, परीक्षा प्रबेश पत्र थान–१ , तामाको मरअंकित बस्तु थाना–१, पित्तको कसौडी थान–१, पित्तलको सानो लोटा थान–१, पित्तलको गिलास थान–१, दियो थान–१, तामाको सानो सानो गिलासहरु, चरेशको थाल–७ थान, हम्मर थान–१, कमण्डल थान–१ समेत बरामद गरिएको छ ।

त्यस्तै दान पेटिकामा रहेको नगद २÷३ महिना देखी नखुलेको र नगद ११ हजार ५०० रुपैयाँ समेत बरामद भएको हो ।

डाका तथा चोरी घटनामा प्रयोग गरेका कटुवा पेस्तोल १, त्यसमा प्रयोग हुने गोली १ राउण्ड, मोवाइल थान १३ थान, खुकुरी चार थान, ह्याक्सो ब्लेड १ थान, फलामको छेनी थान–२, ठुलो फलाको घन–१, सलाई रिन्च–१, फलाको चारपाटे बस्तु, खुकुरी थान–१, खन्ती थान–१ वटा समेत बरमद भएको प्रहरीले जनाएको छ । उनीहरु डाका गिरोह रहेको एसपी खड्काले बताए ।