प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी
काठमाडौं। सर्वोच्च अदालतले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ।
माओवादी द्वन्द्वकालीन घटना र सोही घटनाका सम्बन्धमा तीन वर्षअघि दिएको अभिव्यक्तिलाई साबिती बयानको आधार लिँदै गत मंगलबार सर्वोच्च अदालतमा दुईवटा छुट्टाछुट्टै रिट परेका थिए।
उक्त अभिव्यक्तिलाई युद्धकालमा मारिएका व्यक्तिको हत्यालाई स्वकार्दै साबिती बयान दिएको भन्दै ज्ञानेन्द्रराज आरणसहित र चिरन्जीविवास गिरीसमेतले गत मंगलबार छुट्टाछुट्टै रिट दायर गर्दै तत्काल प्रचण्डलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अन्तरिम आदेशको माग गरेका छन्।
सोही रिटमाथि सुनुवाइ गर्दै शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले निवेदकको माग बमोजिम आदेश किन जारी गर्नुनपर्ने भन्दै १५ दिनभित्र प्रचण्ड आफैंलाई वा वारिसमार्फत महान्यायाधिवक्ता कार्यालयमार्फत जवाफ पेस गर्न आदेश दिएको हो।
साथै इजलासले उक्त मुद्दालाई अग्राधिकारसमेत दिएको छ ।
आजको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ताहरु डा सुरेन्द्र भण्डारी, बालकृष्ण न्यौपाने, दिनेश त्रिपाठी, शिवकुमार यादव, ज्ञानेन्द्र आरण, मणिराम उपाध्यक्ष, अन्नतराज लुइँटेल र ध्रवलाल श्रेष्ठले बहस गरेका थिए।
२०७६ माघ १ मा टुंडिखेलमा माघी पर्वमा अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले माओवादी युद्धकालमा मारिएका १७ हजारमध्ये पाँच हजारको आफूले नैतिक जिम्मेवारी लिने बताएका थिए।
प्रतिक्रिया