आइतबार २३ भदौ, २०८१ | Sunday, September 08, 2024

पाटन क्याम्पसमा नेवि संघको अराजक हर्कत, निर्वाचन भाँड्न अनेक टिकदम

पाटन क्याम्पसमा नेवि संघको अराजक हर्कत, निर्वाचन भाँड्न अनेक टिकदम

ललितपुर । 
सत्तारुढ दल नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ) ले पाटन संयुक्त क्याम्पसमा अराजक हर्कत देखाउँदै तोडफोड र तालाबन्दीमा उत्रेको छ । आसन्न स्ववियु निर्वाचनमा आफ्नो संगठन हार्ने निश्चित भएपछि यस्तो हर्कत गरेको अन्य विद्यार्थी संगठनले आरोप लगाएका छन् । 

काँग्रेसको केन्द्रीय सदस्य जीतजंग बस्नेत निकट तारा शर्माको नेतृत्वमा आएका अराजक समूहले ४ दिन अघि क्याम्पसको निर्वाचन कार्र्यालयको कोठामा प्रवेश गरी अन्धाधुन्दा तोडफोडमा उत्रिएका थिए । तोडफोडले निर्वाचन कार्यालय कोठामा रहेको सामाग्रीको पूर्ण रुपमा क्षति भएको छ भने निर्वाचनमा खटिएका कर्मचारीले प्रयोग गर्ने सवारी साधनमा समेत तोडफोड गरेका थिए । 

पाटन क्याम्पसमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु (अखिल) को बलियो दबदबा छ । नेविसंघ दोस्रो र अनेरास्ववियु क्रान्तिकारी तेस्रो स्थानमा देखिन्छ । पार्टीले सत्तारुढ गठबन्धनसँग भागबण्डा गर्दा पाटन क्याम्पसको सभापति नेवि संघको भागमा परेको थियो । अखिलको बलियो दबदबालाई चिर्न चर्काे दबाबमा रहेको नेविसंघ अन्य संगठनसँग गठबन्धन गरे पनि निर्वाचन नजित्ने निश्चित भएपछि निर्वाचन रोक्न अनेक टिकदम अपनाईरहेको छ । 

पाटन क्याम्पसमा विशेषगरी कांग्रेस केन्द्रीय सदस्य मदन बहादुर अमात्य र जीतजंग बस्नेत दुई प्यानलको नेवि संघ खडा गरिएको छ । अमात्यको तर्फबाट युवराज लामाको प्यानललाई उठाईएको छ भने बस्नेतको तर्फबाट सुशिल बिष्टको प्यानल देखाईएको छ । स्रोतका अनुसार लामाको प्यानल आधिकारिक भनिएको छ । तर बिष्टको पनि लामाको जस्तै आधिकारिक पत्रसहित उम्मेदवारी दाबी गर्न आएपछि थप विवाद चुलिएको हो । विवाद चर्किएपछि क्याम्पस तोडफोडदेखि निर्वाचन समितिका पदाधिकारीलाई राजीनामा गर्न लगाउने, तालाबन्दी गर्ने खराब गतिविधि गर्दै चुनाब भाँड्ने दाउ रचेको विभिन्न ८ विद्यार्थी संगठनले आरोप लगाएका छन् । चुनाव नजिकिँदै गर्दा तोकिएको समयमा उम्मेदवारको मनोनयन समेत दर्ता हुन नसक्दा ठोस निर्णयमा जान क्याम्पस प्रसाशनले आनाकानी गरिरहेका छन् ।