बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

६२ करोड रुपैयाँ भन्दा बढीको सट्टेबाजः ६ जना पक्राउ

६२ करोड रुपैयाँ भन्दा बढीको सट्टेबाजः ६ जना पक्राउ

काठमाडौं । प्रहरीले वान एक्स बेटमार्फत सट्टेबाजी गराएको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २३ वर्षका दिलिप सिंह, २३ वर्षकै भुपालराज न्यौपाने, १७ वर्षीय नयनराज भण्डारी, २८ वर्षका वरुणकुमार सिंह, ३२ वर्षका वासुदेव पाण्डे र २६ वर्षकी शिवानी तामाङ रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर बताए ।

उनीहरुको साथबाट विभिन्न सेवाप्रदायक कम्पनीहरुको सिमकार्ड ३४६ थान, विभिन्न कम्पनीहरुको मोबाइल फोन १० थान, विभिन्न बैंकहरुको चेकबुक ३ थान र एटीएम १४ थान र एसर  कम्पनीको ल्यापटप १ थान बरामद गरिएको प्रहरी उपरीक्षक राठौरले बताए ।

उनीहरुले विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा गतिविधिहरुमा सट्टेबाजी गर्न प्रयोग हुने बेटिङ एप्लिकेशन वान् एक्स बेटमार्फत सट्टेबाजी गरेका थिए । अनुसन्धानका क्रममा उनीहरुले ६२ करोड रुपैयाँ भन्दा बढीको सट्टेबाजी गरेको पाइएको प्रहरीले जनाएको छ ।

उनीहरुले ३५ जनाको नाममा खोलेको डिजिटल वालेटमार्फत ४१ करोड १५ लाख ८९ हजार २७६ रुपैयाँको र  १५ जनाको नाममा रहेका ३४ वटा बैंकमार्फत १२ करोड २५ लाख ३५ हजार ९११ रुपैयाँ बराबरको रकम बेटिङ गरेको प्रहरीको दाबी छ । पक्राउ परेका व्यक्तिहरुबाट ९ करोड ८ लाख १३ हजार १०८ रुपैयाँ बराबरको सट्टेबाजी भएको प्रहरीले जनाएको छ ।