शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

प्रधानमन्त्री नै संसदमा आएर जवाफ दिनुपर्ने एमालेको माग

प्रधानमन्त्री नै संसदमा आएर जवाफ दिनुपर्ने एमालेको माग

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले आफ्ना पार्टीका नेताहरुमाथि निरन्तर सांघातिक आक्रमण भइरहेको भन्दै प्रधानमन्त्रीको जवाफ मागेको छ ।

शुक्रबार संसद बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद विष्णु पौडेलले १३ वैशाखमा पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि झापामा सांघातिक आक्रमणको प्रयास भएको बताए ।

इलामबाट फर्किने क्रममा बाटोमा एम्बुस थापेर आक्रमण गर्न खोजिएको र अरुतिर पनि यस्तो तयारी भइरहेको सूचना आएको भन्दै उनले भने, ‘सरकारले अकर्मण्यता प्रदर्शित गरेको छ, यसको घोर भर्त्सना गर्न चाहन्छु ।’

सरकार मौन समर्थक बनेको र आक्रमणकारीलाई उक्साउन सत्ता समर्थक दलका कतिपय कार्यकर्ता सहभागी भएको सूचना पाएको उनले बताए । पौडेलले प्रश्न गरे, ‘सरकारले गर्न खोजेको के हो ? संविधान प्रदत्त अधिकार खोस्न खोजेको हो ?’

यसबारे संसदमा प्रश्न उठेपछि गृहमन्त्रीले जवाफ दिएको, तर आक्रमणका प्रयासहरु नरोकिएको उनले बताए ।

‘गृहमन्त्रीले सदनलाई दिएको जानकारीले पुगेन । यो अपराध कर्ममा संलग्नहरुलाई कडा कारबाही गरियोस्’, उनले अघि भने, ‘सरकार शान्ति सुरक्षा प्रदान गर्न सक्षम छ कि छैन ? प्रधानमन्त्रीले नै आएर जवाफ दिनुपर्छ ।’