बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

निराको हत्या काण्डः लुटपाटको उद्देश्यले हत्या

निराको हत्या काण्डः लुटपाटको उद्देश्यले हत्या

काठमाडौं । प्रहरीले चाबहिल सरस्वतीनगरकी भाँडा पसल सञ्चालिका निरा पाण्डे आचार्यको हत्या लुटपाटकै उद्देश्यले भएको बताएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा आइतबार आयोजित पत्रकार सम्मेलनमा एसएसपी दिनेश आचार्यले निराले लगाएको सुन लुट्ने उद्देश्यले हत्या भएको देखिएको बताए ।

हत्यामा संलग्नको आरोपमा प्रहरीले झापाबाट विनोद बिकलाई शनिबार पक्राउ गरेको थियो । उनलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ । ७ वैशाखमा निराको हत्यापछि उनले निराले लगाएको सिक्री लुट्नुका साथै काउन्टरमा भएको ११/१२ हजार रुपैयाँ लुटपाट गरेको आचार्यले जानकारी दिए ।

बिकले उक्त सिक्री बालाजुको एक सुन पसलमा ५५ हजार रुपैयाँमा बिक्री गरेको पाइएको प्रहरीले जनाएको छ । निराको हत्याअघि बिकले उक्त पसल हेरेर फर्किएको र दोस्रो पटक गई हत्या गरेको पाइएको प्रहरीको भनाइ छ ।

एसएसपी आचार्यले भने, ‘थप अनुसन्धान भएर नयाँ चिज पनि आउन सक्छ । अहिले हाम्रो प्रारम्भिक अनुसन्धानमा सिक्री लुटपाट गर्ने उद्देश्यले नै हत्या भएको देखिन्छ ।’

निराको परिवारसँग यसअघि बिकको सम्पर्क भएको नपाइएको पनि प्रहरीले बताएको छ । ‘मृतक र मृतकका परिवारसँग यसअघि उसको सम्पर्क भएको देखिएन’ एसएसपी आचार्यले भने । बिकले आर्थिक समस्याका कारण लुटपाट गरेको पाइएको पनि एसएसपी आचार्यले बताए ।