शुक्रबार ०२ कात्तिक, २०८१ | Friday, October 18, 2024

जुम्लामा पार्क निर्माणमै घोटाला, पूर्वप्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जुम्लामा पार्क निर्माणमै घोटाला, पूर्वप्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं– जुम्लाको तिला गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र नेपाली सार्की, इन्जिनियर जनक रोकाय, सव–इन्जिनियर प्रेमबहादुर बस्नेत र नाग्मा पार्क तथा उद्यान निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्द बहादुर बुढा, सचिव अर्जुन बुढा र कोषाध्यक्ष दिलधरा दमाईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

नाग्मा पार्क उद्यान निर्माणमा कम काम गरी प्राविधिकसँग मिलि कार्य सम्पादन मूल्यांकन पूरा भएको देखाई भ्रष्टाचार गरेको पाइएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। 

उपभोक्ता समिति र प्राविधिकहरु मिलि बिल भरपाई बनाई अनुगमन गर्न लगाई सरकारी रकमको चरम दुरुपयोग गरिएको ठहर अख्तियारको छ। 

लागत अनुमान बमोजिम कार्य नभएको, स्थलगत गई नाप जाँच गरी कम काम भए गरेको कार्यलाई बढी गरेको भनि प्राविधिक मूल्यांकनसहितको नापी किताब तयार गरी कार्य सम्पन्न प्रतिवेदन बनाइएको अख्तियारको दाबी छ।

यसरी उनीहरुले ५ लाख ४५ हजार ४१९ रुपैयाँ भ्रष्टाचार गरेको पाइएको भन्दै मुद्दा दायर गरिएको छ।