मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

भुटानी शरणार्थी प्रकरणः आजदेखि थुनछेक बहस

भुटानी शरणार्थी प्रकरणः आजदेखि थुनछेक बहस

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपी माथिको थुनछेक बहस आजबाट सुरु हुँदैछ।

हालसम्म पक्राउ परेका सबै १८ जनाको बयान सम्पन्न भए पछि आजदेखि थुनछेक बहस सुरु हुन लागेको हो। सो थुनछेक बहसपछि आरोपीहरुलाई पुर्पक्षमा पठाउने(नपठाउने भन्ने बारेमा क्रमशः निर्णय लिइनेछ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृह मन्त्री रामबहादुर थापकाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, केशव दुलाल र सानु भण्डारीलगायत १८ जनासँग काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेलगायतले बयान लिएका थिए । जुन बयान शुक्रबार सकिएपछि आजवाट थुनछेक बहस सुरु हुन लागेको हो।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पक्राउ परेका १८ सहितलाई फरार रहेका ३० जनालाई संगठित अपराध, किर्ते, ठगी तथा राज्य बिरुद्धको आरोप गरी चारवटा मुद्धा लगाउँदै २७ करोड ५० लाख बिगो माग दाबीसहित काठमाडौं जिल्ला अदालतमा जेठ १० गते मुद्दा दायर गरेको थियो।