शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

‘बढ्दो तापक्रमलाई न्यूनीकरण गर्न सरकारको योजना कस्तो छ ?’- प्रदीप पौडेल

‘बढ्दो तापक्रमलाई न्यूनीकरण गर्न सरकारको योजना कस्तो छ ?’- प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले बढ्दो तापक्रमलाई न्यूनीकरण गर्न सरकारले तात्कालिक र दीर्घकालीन कस्तो योजना बनाइरहेको छ भन्दै प्रश्न गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले तराईका जिल्लाहरूमा झन्डै ४४ डिग्रीसम्म तापक्रम पुगेको अवस्था बताए। तातो हावा ‘लु’ चल्न थालेपछि जनजीवन असाध्यै प्रभावित हुनुका साथै विद्यालय समेत बन्द भएको उनको भनाइ छ।

उनले भने, ‘पानीको मुहान सुकेको छ। खेतीबाली सुकेको छ। धानको बिउ सुकेको स्थिति छ। जमिनमुनिको पानीको सतह घटेको छ। अशुद्ध पानीका कारण महामारी फैलिने जोखिम बढेको छ। दैनिक ज्यालादारी बढेर खानुपर्ने मजदुरहरूको अवस्था दयनीय बनेको छ।’

अझै १ हप्ताभन्दा बढी तापक्रम बढ्ने उल्लेख गर्दै विश्वव्यापी रूपमा तापक्रम बढ्ने स्थिति आगामी वर्ष झन् बढेर जाने उनको भनाइ छ।