बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

ललितपुरमा गाँजाको तालमा ९ जनाले ३ जनामाथि अन्दाधुन्दा खुकुरी हानेपछि...

ललितपुरमा गाँजाको तालमा ९ जनाले ३ जनामाथि अन्दाधुन्दा खुकुरी हानेपछि...

काठमाडौं । 
ललितपुरको दक्षिणी भेगमा पर्ने चन्दनपुरमा ३ जनामाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। महानगरिय प्रहरी वृत्त, चापागाउँले ज्यान मार्ने उद्योग कसूरमा ९ जनालाई पक्राउ गरेको ललितपुर प्रहरी प्रवक्ता नवराज कार्कीले जानकारी दिए। 

पक्राउ पर्नेहरुमा महाँकाल गाउँपालिकाका सुमन घलान, अनिश बजगाई, नविन वाइबा, विनोद न्यासुर, सौरभ विक, विजय वाइबा, प्रकाश घलान, आशिष बजगाई र छिरिङ स्याङतान रहेका छन्। उनीहरूबाट ३ वटा मोटरसाइकल समेत बरामद भएको छ।

प्रहरीका अनुसार घटना सोमबार राति १० बजेतिरको हो। महाँकाल गाउँपालिका–३ जप्कामा बस्ने तीन जना कामदारहरूमाथि ९ जनाको समूहले खुकुरी प्रहार गरी घाइते बनाएको थियो। उनीहरू सडक निर्माणको काम भइरहेकाले गोटिखेलमा पाल टाँगेर बसिरहेका थिए।

बर्दिया मधुवन नगरपालिका–२ का सुनिल थारू, कोञ्ज्योसोम गाउँपालिकाका सुजेन लामा र रशेम लामा घाइते भएका थिए। घाइते भएपछि प्रहरीले त्यही बेला उनीहरूलाई लेलेस्थित आनन्दवन अस्पताल लगिएको थियो। त्यहाँबाट पाटन अस्पताल लगेर त्यहाँबाट पनि रिफर भएपछि त्रिवि शिक्षण अस्पतालमा पुर्‍याइएको थियो।

अहिले उनीहरू खतरामुक्त भएको प्रहरीले जनाएको छ। त्यसयता प्रहरीले घटनामा संलग्न रहेकाहरूको खोजी गरी ९ जनालाई पक्राउ गरेको हो। 

प्रहरीका अनुसार युवतीको विषयलाई लिएर उनीहरूबीच झडप भएको हो। खुकुरी प्रहार गर्ने समूहका एक युवककी गर्लफ्रेन्डको नम्बर एक घाइते पुरूषले पाएका थिए। आरोपितहरुको समूह गाँजा खाएर गाउँमा उडन्त मच्चाउने गरेको र सोही बेला पनि गाँजाको तालमा युवतीको विषयमा सडक छेउको पालमा मस्त सुतिरहेकाहरुमाथि अन्दाधुन्दा प्रहार गरेका थिए । अहिले उनीहरुलाई वृत्त, चापागाउँ राखेर अनुसन्धान गरिरहेको छ ।