शनिबार १२ साउन, २०८१ | Saturday, July 27, 2024

वडा अध्यक्ष विष्णुमान महर्जनको शेयर रहेको कम्पनीसम्म पुग्ने बाटोमा प्रदेशको २० लाख रुपैयाँ बजेट, ब्यापक अनियमितताको आशंका

बाटो सोरेको जस्तो देखाएर २० लाख बजेट हिनामिना गरी पचाउने दाउमा कांग्रेसका कार्यकर्ता

वडा अध्यक्ष विष्णुमान महर्जनको शेयर रहेको कम्पनीसम्म पुग्ने बाटोमा प्रदेशको २० लाख रुपैयाँ बजेट, ब्यापक अनियमितताको आशंका

ललितपुुर । 
गोदावरी नगरपालिका–६ मा प्रदेश सरकारले छुट्ट्याएको २० लाख रुपैयाँको बजेटको काममा हिनामिना भएको पाईएको छ । त्यहाँको मल्ल रिसोर्ट निरको लप्सी डाँडादेखि गैरिगाउँको चिहानसम्म सडक विस्तार गर्ने भनिए पनि एउटा अमुक कम्पनीसम्म पुग्ने बाटो सोरसार गरेर २० लाख रुपैयाँ बजेट पचाउने दाउ देखिएको छ ।

तर त्यो सडक कुनै बस्तीसम्म नभई वडा नम्बर ६ का वडा अध्यक्ष विष्णुमान महर्जनको शेयर रहेको रोडोदेन्ड्रोन बायो टेक प्रालि कम्पनीसम्म पुग्ने सडक मर्मत गरेको छ । आयोजनाबाट लाभान्वित हुने ४५ घरधुरी भनिएको छ । तर योजना सिंगो कम्पनीसम्म मात्रै तेर्सिएको देखिन्छ । 

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन कार्यालयले विनियोजित २० लाख रुपैयाँ रकमको लप्सी डाँडा (मल्ल होटल) आरपिपिएल चिहान डाँडा विस्तार नाम दिईएको कालिटार एरियामा पहिरो नियन्त्रण उपभोक्ता समितिबाट गरिएको उक्त योजनामा कांग्रेस कार्यकर्ता नरेश खड्का अध्यक्ष रहेका छन् ।

उनी वडा अध्यक्ष महर्जनको विश्वासको पात्र हुन् । उनलाई नै वडा भरीको बजेटको कामको जिम्मा दिईएको छ । उनी सहभागी टिकाभैरब पेट्रोलपम्प–नल्लुखोलाको बजेटमा समेत अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उनले यस २० लाखको बजेटको काम २० लाख रुपैयाँ खर्चेको पत्याउन मुस्किल छ । उनले योजनाको काम सबै सम्पन्न भएको र रकम निकासाको लागि फाईल बुझाईसकेको बताए ।

मल्ल रिर्साेटदेखि कम्पनीसम्मको बाटो अलिअलिमात्रै सोरिको देखिन्छ । माटो पन्छाएको देखिन्छ । भने ह्युमपाईप एक ठाउँमा ओछ्याएको छ । दुई ठाउँमा कमसल साना साना पर्खाल लगाईएको छ । स्थानीयहरुले यस योजनाको काममा व्यापक अनियमितता भएको भन्दै अख्तियारमा उजुरी दिने तयारी गरेको छ ।