शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

आजको मन्त्रिपरिषद् बैठकका ८ निर्णय (निर्णयसहित)

आजको मन्त्रिपरिषद् बैठकका ८ निर्णय (निर्णयसहित)

काठमाडौं । आजको मन्त्रिपरिषद् बैठकले विभिन्न ८ वटा निर्णय गरेको छ । क्याबिनेट निर्णय जानकारी गराउँदै सञ्चारमन्त्री रेखा शर्माले विद्युतीय साइबर अपराध र बैंकिङ कसुरका मुद्दाहरू कारबाही र किनाराको अधिकार अब सबै जिल्ला अदालतबाट तोकिएको जानकारी दिइन् ।

बैठकले महिलामाथि हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धि १९८९ को सातौं आवधिक प्रतिवेदन समितिमा पठाउन स्वीकृत दिने, रक्षामन्त्री पूर्णबहादुर खड्कालाई ओमानमा हुने एक सम्मेलनमा सहभागिता जनाउन स्वीकृत दिने र नेपाल सरकार(बेलायत सरकारबीचको दुईपक्षीय श्रम सम्झौता कार्यान्वयन सम्बन्धी कार्ययोजना स्वीकृत गर्ने निर्णय पनि गरेको छ । बैठकले भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकृत गर्ने विधेयक सदनमा पेश गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै प्रवक्ता शर्माले भारतीय चलचित्र आदिपुरुषमा रहेको केहि शब्द हटाएर सरकारको सेन्सर बोर्डबाटै पास गरिएको जानकारी दिइन् । उहाले भावनात्मक हिसाबमा सबै नेपाली एकै ठाँमा रहेको भन्दै भारतीय चलचित्र चल्न दिने वा नदिने भन्ने विषयमा सबैले क्षेत्राधिकार बुझ्नुपर्ने प्रष्ट्याइन् ।

उनले स्टन्टमा भन्दा पनि दीर्घकालीन समाधानमा ध्यान दिनुपर्ने भन्दै सरकारले परराष्ट्र मन्त्रालयमार्फत आफ्ना कुरा राखिसकिएको बताइन् । त्यस्तै प्रवक्ता शर्माले सरकारले प्रस्तुत गरेको बजेट संशोधन गर्न सकिने भन्दै बजेट संशोधन हुँदैमा सरकार असफल भयो भनेर बुझ्न नहुने जिकिर गरेकी छन् ।

यसअघि डा। बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला पनि बजेट संशोधन भएको र अहिले पनि आवश्यकता परे बजेटमा संशोधन गर्न सकिने धारणा राखिन् ।