शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

बजेट पारित हुन नदिने नेकपा एसको निर्णय

बजेट पारित हुन नदिने नेकपा एसको निर्णय

 

काठमाडौं । गठबन्धन घटक नेकपा एसले यथास्थितिमा बजेट पारित हुन नदिने निर्णय गरेको छ । सिंहदरबारमा बसेको संसदीय दलको बैठकले यसबारे गठबन्धनमा छलफल गर्ने साथै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा। प्रकाशशरण महतलाई पनि जानकारी गराउने निर्णय गरेको हो ।

उपाध्यक्ष एवं संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले भने, ‘बैठकमा साथीहरूले अर्थमन्त्री र प्रधानमन्त्रीसँग पनि कुरा राख्नुस् गठबन्धनमा पनि कुरा गर्नुस् भन्नुभएको छ । दुई दिनअघि प्रधानमन्त्रीलाई भेटेर भनेको छु । परिवर्तन गरेर असन्तुलित बजेटलाई सन्तुलित बनाएरमात्र मात्र बजेट पास गर्नुपर्छ ।’

उनले शेयर मार्केट, घरजग्गाको कारोबारलगायतको विषयमा दैनिक संशोधन भइरहेकोले परिवर्तन हुनै नसक्ने भन्ने नरहेको बताए । ‘१३८ जनाभन्दा  बढि भोट हाल्नेवाला छौं यही अवस्थामा भोट हाल्न सकिन्न भनेर हामी भोट हाल्नेले बजेट संशोधन गर्नुस् भनेपछि त गर्नुपर्‍यो नि’, पाण्डेको भनाइ छ ।

बजेट गोरखा, डडेलधुरा र नुवाकोटमा केन्द्रित भएको साथै नेकपा एसले सम्हालेको मन्त्रालयमाथि विभेद गरिएको भन्दै पार्टीका नेता र सांसदले तीव्र असन्तुष्टि पोख्दै आएका थिए ।