शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

संसदले बजेट संशोधन गर्नसक्ने व्यवस्था गरौंः रमेश लेखक

संसदले बजेट संशोधन गर्नसक्ने व्यवस्था गरौंः रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदले बजेट संशोधन गर्नसक्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बजेट संशोधन हुँदैन भने संसदभित्र बजेटको सम्बन्धमा भएको छलफलको औचित्यमाथि नै प्रश्न उठ्न थालेको बताए । यसप्रति सबै गम्भीर हुनुपर्ने भन्दै लेखकले बजेटको सवालमा संसदको भूमिका निर्धारण गर्न जरुरी रहेको बताए ।

हाल भएको अवधारणालाई परिमार्जन गरेर संसदबाट बजेट परिमार्जन हुनसक्छ भन्ने स्थापित गर्नुपर्नेमा उनको जोड छ । यद्यपि सरकारले यसपटक ल्याएको बजेट भने समय अभावले संशोधन हुन नसक्ने लेखकको जिकिर छ ।

‘विनियोजन विधेयकको हकमा संशोधन गर्ने भनेर हामीले कहीँ भनेका छैनौं । त्यसकारण हामीले त्यसलाई खर्च कटौतीको प्रस्ताव भनेका छौं । अरु सबै कानूनहरू संशोधन गर्ने, परिमार्जन गर्ने, त्यसलाई सरकारले प्रश्तुत गरेको रूप, आकार र त्यो व्यवस्था भन्दा फरक व्यवस्थाहरु गरेर पनि हामी कानून बनाउन सक्छौं भन्ने कोणबाट हेरिएको छ भने विनियोजन विधेयक, अर्थ विधेयक, बजेटमा संशोधन हुँदैन है भन्ने कोणबाट हामी अगाडि बढेका छौं । आज एउटा प्रश्न महत्वपूर्ण ढंगले उठेको छ’, लेखकले भने, सदनभित्र र बाहिर पनि उठेको छ, यदी बजेटमा कुनैपनि संशोधन गर्ने होइन भने यत्रो लामो छलफलको औचित्य के हो भन्ने महत्वपूर्ण प्रश्न उठेको छ ।’