आइतबार २३ भदौ, २०८१ | Sunday, September 08, 2024

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव ढकालविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव ढकालविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता

 

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा। प्रदीप ढकालविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ।

उनीउपर १ करोड ४४ लाख ११ हजार ७८१ रुपैयाँ ७१ पैसा विगो दाबीसहित सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

उनी २०७४ साउन ३२ देखि २०७९ साल जेठ ३० गतेसम्म कोषको सदस्य सचिव थिए । अख्तियारले यही अवधिमा उनले आर्जन गरेको सम्पत्तिमाथि अनुसन्धान गरेको जनाएको छ।

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव भएपछि ढकालको र परिवारको बैंक खातामाथि अख्तियारले अनुसन्धान गरेको थियो। वैध रुपमा ६ करोड ३९ लाख रुपैयाँ आर्जन गरेका उनले ७ करोड ८४ लाख रुपैयाँको सम्पत्ति जोडेको देखिएको भन्दै अख्तियारले उनीमाथि एक करोड ४४ लाख रुपैयाँ विगो मागदावी गरी भ्रष्टाचार मुद्दा दायर गरेको हो।

स्याङ्जा स्थायी घर भएका ढकाललाई तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री जितेन्द्र देवले सदस्य(सचिव बनाएका थिए।

अख्तियारले जारी गरेको विज्ञप्तिः

पशुपति क्षेत्र विकास, कोषका तत्कालीन सदस्य सचिव डा। प्रदिप ढकालले पदमा वहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज प्रदिप ढकालले सार्वजनिक सेवा प्रवेश गरेको मिति २०७४।०४।३२ गतेदेखि निजले सम्पत्ति विवरण पेश गरेको मिति २०७९।०२।३० गतेसम्मको अवधिलाई अनुसन्धानको जाँच अवधि कायम गरी विभिन्न शीर्षकमा भएको आयलाई विश्लेषण गर्दा आयतर्फ निज सार्वजनिक सेवामा प्रवेश गर्दाको बखत निज र निजको परिवारको बैंक खातामा रहेको मौज्दात रकम, निजको पारिश्रमिक वचत, निजले प्राप्त गरेको प्रोत्साहन भत्ता, बैठक भत्ता, भ्रमण भत्ता, अतिरिक्त सुविधा, सेवाबाट अवकाश भएपछि नागरिक लगानी कोषबाट प्राप्त रकम, बिभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा रकम, सेयर बिक्रीबाट प्राप्त रकम र विभिन्न व्यक्तिहरुसँग लिएको व्यक्तिगत सापटीसमेत गरी आयतर्फ स्रोत खुलेको रु ६,३९,९३,३१२.४१ (छ करोड उनान्चालीस लाख त्रियानब्बे हजार तीन सय बाह्र रुपैंया एकचालीस पैसा) र यसै अवधिको विभिन्न शीर्षकमा भएको व्ययतर्फ घर÷जग्गा खरिदमा रजिष्ट्रेशन दस्तुरसहित, उक्त घरमा इन्टेरियर डेकोरेशनमा भएको खर्च, बिभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाबापतको साँवाब्याज भुक्तानीमा भएको खर्च, बैंक वित्तीय संस्थाबाट कर्जा लिँदा तिरेको सेवा दस्तुर, बिभिन्न कम्पनीको सेयर खरिदमा भएको खर्च, विभिन्न ब्यक्तिहरुबाट लिएको सापटी रकम फिर्ता भुक्तानीमा भएको खर्च, बैंक खाताबाट क्लियरिङ्गमार्फत खर्च गरेको रकम, औषधि उपचारमा भएको खर्चसमेत गरी जम्मा रु ७,८४,०५,०९४.१२ (सात करोड चौरासी लाख पाँच हजार चौरानब्बे रूपैंया बाह्र पैसा) खर्च तथा लगानी भएको देखिँदा वैधानिक श्रोत खुल्न नसकेको लगानी एवं सम्पत्ति रु १,४४,११,७८१.७१ (एक करोड चवालीस लाख एघार हजार सात सय एकासी रूपैंया एकहत्तर पैसा) रहेको हुँदा सार्वजनिक पद धारण गरेका निज प्रदिप ढकालले प्रचलित कानुनबमोजिम पेस गरेको सम्पत्ति विवरण अमिल्दो तथा अस्वभाविक देखिनुका साथै अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको र सार्वजनिक पदको दुरुपयोग गरी रु १,४४,११,७८१.७१ बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरी प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज प्रदिप ढकालउपर निजले पदको दुरूपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति रु १,४४,११,७८१.७१ (एक करोड चवालीस लाख एघार हजार सात सय एकासी रूपैंया एकहत्तर पैसा) विगो कायम गरी प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम कैद तथा जरिवानाको सजाय गरी पाउनका साथै प्रतिवादी प्रदिप ढकालले जाँच अवधिमा गैरकानुनी रूपमा आर्जन गरेको श्रोत नखुलेको बिगो निजको नाममा हाल कायम रहेको घर÷जग्गाबाट प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख बमोजिम बिगो र जरिवाना जफत गरी पाउन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
भोला दाहाल