शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

बागमती प्रदेशसभा बैठक स्थगित

बागमती प्रदेशसभा बैठक स्थगित

हेटौंडा । बागमती प्रदेशको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् । प्रदेश सरकारले ल्याएको बजेट एक पक्षीय भएको, सरकारको मन्त्री रहेको जिल्ला र क्षेत्रलाई मात्र प्राथमिकता दिएको, बजेटलाई समावेशी ढंगबाट वितरण नगरिएको, वडा नै नभएको क्षेत्रमा बजेट विनियोजन गरेको, गैससलाई नाम नै तोकेर अनुदान वितरण गरिएकोलगायतको विषयको कारण प्रमुख प्रतिपक्ष एमाले र राप्रपाले बैठक अवरुद्ध गरेका हुन् ।

बागमती सरकारले असार १ गते आर्थिक वर्ष २०८०र०८१ को बजेट सार्वजनिक गरेपछि १२ दिनपछि आज सुरु भएको छलफलको प्रारम्भमै प्रमुख प्रतिपक्ष दलका नेता जगन्नाथ थपलियाले आफ्नो भनाइ राखेपछि एमाले सांसदहरुले उठेर बैठक बहिष्कार गरेका हुन् ।

सरकार के खाएर निदाएको भन्ने प्रश्न गर्दै थपलियाले प्रदेश सरकारले ल्याएको बजेट किसान, युवा, निमुखा जनताको पक्षमा नरहेकाले यस्तो बजेट कुनै पनि हालतमा पास गर्न नदिने बताए ।

बागमती प्रदेश सरकारले ल्याएको बजेटमध्ये २१ प्रतिशत मुख्यमन्त्री शालिकराम जम्कट्टेलको गृह जिल्ला धादिङसहित नुवाकोट र सिन्धुपाल्चोकमा मात्र केन्द्रित रहेको भन्दै उनले यस्ताखाले बजेटले संघीयताको मर्मलाई मारेको बताए ।

मकवानपुर, काभ्रे, रामेछाप, काठमाडौंमा वडा नै नभएको स्थानमा कसरी बजेट विनियोजन भयो भन्दै उनले सरकारले लज्जाजनक काम गरेको आरोप लगाए । बजेट पुनर्लेखन गरेर समावेशी बनाएरमात्र पास गर्न उनले प्रदेश सरकारलाई अनुरोध गरेका छन् ।

एमाले र राप्रपाले विरोध गरेपछि सभामुख भुवन पाठकले साँझ पौने ६ बजेसम्मको लागि बैठक स्थगित गरेका छन् ।