शुक्रबार ०२ कात्तिक, २०८१ | Friday, October 18, 2024

ललिता निवास प्रकरणः भाटभटेनीका मालिकदेखि मालपोतका हाकिमसम्म पक्राउ परे

ललिता निवास प्रकरणः भाटभटेनीका मालिकदेखि मालपोतका हाकिमसम्म पक्राउ परे

 

काठमाडौं। ललिता निवास प्रकरण ६ जना पक्राउ परेका छन्। जसअनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, तत्कालीन खरदार गोपाल कार्क, कर्मचारी सुरेन्द्रमान कपाली, भूपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई पक्राउ गरेको छ।

ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा उनी आरोपित रहेका थिए। यसअघि उनी फरारको सूचीमा रहेका थिए।

ललिता निवास जग्गा प्रकरण सरकारले छानवीन गरेको प्रतिवेदन अनुसार सरकारले ०२१ मंसिर १५ गते क्षतिपूर्ति र मुआब्जा दिएर खरिद गरेको २८४ रोपनी मध्ये ११२ रोपनी ४ आना जग्गा मीनबहादुर गुरुङ, शोभाकान्त ढकाल र रामप्रसाद सुवेदीले मालपोत कार्यालयका भूपेन्द्रमणि केसी र टीका घिमिरेसँगको मिलोमतोमा खरिद गरेको देखिन्छ।

गुरुङले नै एनआरएनलाई पनि वालुवाटार जग्गमा जोडेका थिए। सरकारी अनुसन्धान अनुसार उनले व्यक्तिगत, संयुक्त, भाटभटेनी सुपरमार्केट र आफन्तका नाममा जग्गा खरिद गरेका थिए।

कित्ता नम्बर ७४, १३७, ४१३ का जग्गाहरु गुरुङले आफ्नै नाममा लिएका थिए। गुरुङले भाटभटेनी डेभलपर्स प्रालिका नाममा १० कित्ता जग्गा राखेको देखिन्छ।

कित्ता नम्बर १०, १२, १४, १७, ५७, ५८, ७९, ८१, ८२ र २८६ को जग्गा अहिले पनि भाटभटेनीको नाममा छ। बाँकी जग्गा छोरो कल्याण लगायतका आफन्तका नाममा राखिएको छ।

केसी डिल्लीबजार मालपोतमा बसेर पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भूमि विज्ञसमेत भएका थिए।  गौतम र कपाली पनि कर्मचारी हुन्।  ललिता निवास जग्गा अनियमितता प्रकरणको अनुसन्धानका सिलसिलामा उनी पक्राउ परेको सीआईबी श्रोतले जानकारी दिएको छ।

त्यो घटनामा जोडिएका अरु केही व्यक्तिहरुको पनि प्रहरीले खोजी भइरहेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्री, तत्कालीन आयोगका आयुक्तसहित १७५ जनाविरुद्ध २०७६ मंसिरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।