सोमबार २२ पुस, २०८१ | Monday, January 06, 2025

उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठ चीन प्रस्थान

उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठ चीन प्रस्थान

काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ पाँच दिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । उपप्रधानमन्त्री श्रेष्ठ सात सदस्यीय प्रतिनिधिमण्डलसहित मंगलबार राति चीनको सिचुवान प्रान्तको भ्रमणका लागि प्रस्थान गरेका हुन् । श्रेष्ठ छेन्दु अन्तर्राष्ट्रिय विमानस्थमा अवतरण भइ आजै ‘पश्चिमी चीन अन्तर्राष्ट्रिय मेला’को स्वागत भोजमा सहभागी हुनेछन् ।

उपप्रधानमन्त्री श्रेष्ठले बिहीबार ‘पश्चिमी चीन अन्तर्राष्ट्रिय मेला’को उदघाटन समारोहलाई विशेष अतिथिका रूपमा सम्बोधन गर्नेछन् भने दिउँदो छेन्दुको योजना प्रदर्शनी हल र अन्तर्राष्ट्रिय मित्र शहर सिचुवानको भ्रमण एवम् प्रदर्शनी अवलोकन गर्ने कार्यक्रम छ । सोही दिन साँझ उनी चिनियाँ कम्युनिष्ट पार्टी, सिचुवान प्रान्तका नेताद्वारा आयोजित रात्रिभोजमा सरिक हुनेछन् ।

उपप्रधानमन्त्री श्रेष्ठले शुक्रबार सिचवान विश्वविद्यालय नेतृत्वसँग भेटघाट गर्नुहुनेछ भने त्याहाँ अध्ययनरत चाइनिज, नेपाली र अन्य विदेशी विद्यार्थीहरूलाई सम्बोधन मन्तव्य समेत दिनेछन् । त्यसपछि उनले विश्वविद्यालयको ‘हाइड्रोलिक्स’ र ‘माउन्ट रिभर इन्जिनियरिङ’ प्रयोगशालाको अवलोकन गर्नेछन् । दिउँसो सिचुवान एयरलाइन्स र प्रान्तीय लगानी समूहका अधिकारीहरूलाई भेट्ने कार्यक्रम छ ।

शनिबार बिहान उनले भूकम्पपछि पुनर्निर्माण भएको यिन्छियुको र जिपिङ्पुस्थित ‘हाइड्रो जक्सन’को अवलोकन भ्रमण गर्नेछन् । दिउँसो दुजियाङ्गानस्थित चीनकै पुरानो सिंचाइ प्रणाली र ग्रामीण पुनरुत्थानको अवलोकन भ्रमण गर्नेछन् । शनिबार नै छेन्दु फर्किएर आइतबार बिहानको उडानमार्फत बिहान ११ः१० बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेछन् ।

प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, गृहमन्त्रालयका सहसचिव रुद्रदेवी शर्मा, उद्योग मन्त्रालयका सहसचिव महेश बराल, उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, राष्ट्रिय समाचार समितिका संवाददाता अशोक घिमिरे र अङ्गरक्षक बाबुराम खरेल छन् ।