शनिबार १२ साउन, २०८१ | Saturday, July 27, 2024

वन फँडानीमा संलग्न भएको आरोपमा ललितपुरका वडाअध्यक्ष विष्णुमान महर्जनविरुद्ध अख्तियारमा उजुरी

वन फँडानीमा संलग्न भएको आरोपमा ललितपुरका वडाअध्यक्ष विष्णुमान महर्जनविरुद्ध अख्तियारमा उजुरी

ललितपुर । 
गोदावरी नगरपालिका–६ का वडा अध्यक्ष विष्णुमान महर्जनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । स्थानीय सामुदायिक वन फँडानी गरेको आरोप लगाउँदै उनीविरुद्ध मंगलबार अख्तियारमा उजुरी परेको हो । 

उनले स्थानीय भागावन सामुदायिक वनमा सम्बन्धित निकाय डिभिजन वन कार्यालय, वन उपभोक्ता समूह लगायतलाई खबर नगरी एकोहोरो रुपमा बजेटको काम गर्ने भन्दै भट्टाभट सल्लाका रुखहरु फँडानी गर्न आदेश दिएको उजुरीमा उल्लेख गरिएको छ । 

‘सामुदायिक वनको रुख विरुवा जथाभावी फँडानी गरी जैविक विविधतालाई समेत खलल पार्ने गरी रुखहरु कटान गरी वन भित्र पार्क बनाउने नाममा सामुदायिक वन, डिभिजन वनको समेत अनुमति नलिई सामुदायिक वनभित्र ट्रस्ट निर्माण गर्ने जस्ता गतिविधि गर्दै आईरहेको’, उजुरीमा उल्लेख छ ।  

सार्वजनिक तथा सामुदायिक वनमा अनधिकृत प्रवेश गरी कसैलाई थाहा नदिई यसरी १२ देखि १८ ईञ्च गोलाई (फेद नाप्दा) रहेको २० वटाको हारहारीमा सल्लाका रुख कटान गरी जमिन सम्याएर वन तथा जैविक विविधतालाई समेत असर पुग्ने गरी पार्क निर्माण गरिरहेको समेत आरोप लगाईएको छ । 

स्थानीयले त्यस्ता गतिविधि पटक पटक रोक्न आग्रह गर्दा वडा अध्यक्ष विष्णुमान महर्जनको आदेश छ रोक्न मिल्दैन भनेर कामदार र निर्माण समितिका पदाधिकारीको जवाफ आउने कारणले गर्दा, डिभिजन वन कार्यालय, सब डिभिजन वन कार्यालय, बज्रबाराही, वन उपभोक्ता समितिलाई समेत पटक पटक यसको जानकारी गराउँदा वेवास्ता गरिएको उजुरीमा भनिएको छ ।

काम रोकी वन जंगलको थप फडानी हुनमा असहयोग गर्ने, काम गर्न बजेट राखी अवैध रुपमा वनमा रुख फँडानी गर्न आदेश दिएको भन्दै वडा अध्यक्ष विष्णुमान महर्जन लगायतमाथि अनुसन्धान गरी कारबाही गर्न अख्तियारसँग उजुरीमार्फत उजुरीकर्ताले अनुरोध समेत गरेका छन् ।