शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

सचिव भट्टराईमाथि भएको अभद्र व्यवहारप्रति एमालेको निन्दा

सचिव भट्टराईमाथि भएको अभद्र व्यवहारप्रति एमालेको निन्दा

काठमाडौं । नेकपा एमालेले सचिव योगेश भट्टराईमाथि इलाममा भएको अभद्र व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एमाले प्रचार विभागका सचिव गगन विष्टले एक विज्ञप्ति जारी गर्दै जननेता मदन भण्डारीको ७२ औं जन्म जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा सहभागीका लागि इलामा पुगेका सचिव भट्टराईमाथि उच्छृङ्खल व्यक्तिहरुको समूहले अभद्र व्यवहारप्रति पार्टीले निन्दा र भर्त्सना गर्ने उल्लेख गरेका छन् ।

कोशी प्रदेशमा संविधान र कानूनी व्यवस्थाअनुसार प्रदेश सभाको दुई तिहाइ बहुमतले कोशी नामकरण गरेको उल्लेख गर्दै नाममा असहमति राख्नेले केही दिनदेखि नै एमालेका नेताहरुलाई आक्रमणको प्रयास गरेको विज्ञप्तिमा भनिएको छ ।

‘प्रदेश सभाबाट गरिएको कोशी प्रदेश नामकरणको निर्णय हिंसात्मक गतिविधिबाट परिवर्तन हुनसक्दैन भन्नेतर्फ उक्त समूहलाई हाम्रो पार्टी गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ । साथै, हिंसात्मक गतिविधि नियन्त्रणमा देखिएको सरकारको उदासिनताप्रति गम्भीर आपत्ति प्रकट गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।