शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

इतिहासले सम्झिने काम गर्छुः प्रधानमन्त्री

इतिहासले सम्झिने काम गर्छुः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश र जनतालाई साक्षी राखेर ऐतिहासिक काम गर्ने आफ्नो संकल्प रहेको बताएका छन् । आइतबार बिहान इन्ट्रा नेशनल वेलफेयर एण्ड सर्पोट फाउन्डेसनद्वारा आयोजित विश्वभरिका नेपाली प्रतिभाहरूसँगको भेटघाटमा बोल्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘मैले भनेको थिएँ, यसपटक म कुनै नराम्रो काम गर्दिनँ, नराम्रो काम हुन दिन्न । जति गर्छु, देश र जतालाई साक्षी राखेर राम्रोमात्र गर्छु, इतिहासले सम्झिने, आउने पुस्ताले सम्झिने केही ऐतिहासिक काम गर्छु ।’ सरकारले गरेको कामले भ्रष्टाचारको अन्त्य र सुशासन चाहने, जनताको जीवनमा परिवर्तन चाहनेहरू सबै उत्साहित भएको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘जो देशको पक्षमा छैनन्, जनताको समृद्धि र सुशासनको पक्षमा छैनन्, उनीहरू आतंकित छन् । तसर्थ, मेरो तपाईंहरूसँग विशेष अपिल छ( देश निर्माण गर्ने सरकारको संकल्पमा बलियो साथ दिनुस्, यो महाअभियानको तपाईंहरू पनि सारथि बन्नुस् । सबै मिले देश बनाउन सकिन्छ, हामीले बनाउनैपर्छ ।’ देश निर्माणको अभियानमा बलियो साथ दिन उनले युवा पुस्तालाई अपिलसमेत गरे ।