शनिबार १२ साउन, २०८१ | Saturday, July 27, 2024

नाइट क्लबः बलात्कारको घटनामा एलओडी पनि तानियो

नाइट क्लबः बलात्कारको घटनामा एलओडी पनि तानियो

काठमाडौं। ललितपुरमा भएको बतात्कारको एक घटनामा चर्चित नाइट क्लब एलओडी पनि तानिएको छ । अहिले एलओ‌डीका साहुहरूको भागाभाग भइरहेको छ। ललितपुर प्रहरी परिसरले एलओडीका साहुहरू रुदीलबल्लव श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ पुर्जी लिएर खोजी गरिरहेको जनाएको छ।

उदयपुरकी १६ वर्षीया बालिकालाई एलओडी भित्र भेटेका ५० वर्षीय सुजन कोइरालाले सानेपामा पुर्‍याएर बलात्कार गरेको प्रहरीले जनाएको छ । ती बालिका बुढानीलकन्ठस्थित दिदीको घरमा बस्दै आएकी थिइन् ।

फेसबुकमार्फत चिनजान भएकी केटी साथीले रमाइलो गर्न जाऊँ भन्दै पीडितलाई एलओडी पुर्‍याएकी थिइन्। पीडितले क्लबभित्र पुगेपछि केटी साथीले एक्लै छाडेर ‘हराएको’ बताएकी छन् ।

सानेपामा आफू बलात्कृत भएपछि बालिकाले दिदीलाई फोन गरेर बोलाएकी थिइन् । प्रहरी तत्कालै घटनास्थल पुगेको थियो । बालिकाको साथबाट भेटिएको कागजपत्रमा उनी नाबालिग रहेको फेला पारेपछि एलओडी तानिएको हो ।

‘पीडित र पीडक एलओडीमा भेट भएको देखिन्छ। पीडितले पनि मदिरा सेवन गरेको अवस्था थियो । त्यसरी १८ वर्षभन्दा कम उमेरकालाई क्लबमा प्रवेश दिएर एलओडीले कानून उल्लङ्घन गरेको छ । त्यहीँ भेट भएर सानेपामा बलात्कार भएको देखिन्छ’, अनुसन्धान अधिकृत भन्छन् । 

उनीहरूले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ को उपदफा १ (ख) कसुर गरेको प्रहरीको दाबी छ। त्यसमा ‘बालिगहरुकालागि खोलिएका डान्स बार, क्यासिनो जस्ता मनोरन्जनस्थलमा प्रवेश वा प्रयोग गराउने’ कार्यलाई बालबालिकाविरुद्ध हिंसा गरेको मानिने छ भन्ने उल्लेख छ। त्यस्तो हिंसा गरेबापत ५० हजार रुपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद हुने व्यवस्था छ ।