बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

प्रहरी जवानलाई यातनाः छानबिन टोली गठन

प्रहरी जवानलाई यातनाः छानबिन टोली गठन

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई यातना दिएको भिडिओ सार्वजनिक भएको विषयमा मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन अगाडि बढाएको छ ।

कार्यालयले डीएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा ५ सदस्यीय छानबिन टोली गठन गरेको छ । प्रहरी जवानलाई यातना दिएको विषयमा छानबिन गर्न टोली गठन भएको प्रदेश प्रहरी कार्यालयका एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार घटनाको छानबिन गर्न गठित टोली सिरहासमेत पुगिसकेको छ । टोलीलाई घटनाको छानबिन गरी अविलम्ब प्रतिवेदन बुझाउन निर्देशन दिइएको उनको भनाइ छ ।

चालकको रुपमा कार्यरत प्रहरी जवान रायलाई पाता कसेर यातना दिइएको भिडिओ आज सार्वजनिक भएको छ । भिडिओ सार्वजनिक भएलगत्तै प्रदेश प्रहरी प्रमुख डीआईजी स्वयं सिरहा पुगेर घटनाबारे बुझेका थिए ।

प्रहरी जवान रायका भाइ रजनीशले बढी ड्युटी गराएको र गुनासो गरेपछि इन्स्पेक्टर हेमन्द राईले नियन्त्रणमा लिएर यातना दिएको आरोप लगाएका छन् ।

उनले कानूनी उपचारसमेत खोज्ने चेतावनी दिएलगत्तै प्रदेश प्रहरी कार्यालयले घटनाको सत्यतथ्य बाहिर ल्याउन छानबिन टोली बनाएको छ ।