शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

कांग्रेसले ०८४ को होइन अहिलेको चिन्ता लिनुपर्छ–विश्वप्रकाश शर्मा

कांग्रेसले ०८४ को होइन अहिलेको चिन्ता लिनुपर्छ–विश्वप्रकाश शर्मा

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आज बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित विचार गोष्ठीमा पार्टीले ०८४ को चुनावका लागि नभई अह‍िलेका लागि चिन्ता गर्नुपर्ने बताएका छन्।

महामन्त्री शर्माले चार वटा प्रदेश सरकार र ३२९ स्थानीय तहको नेतृत्व गरेको पार्टीले ०८४ मा हुने चुनावको चिन्ता छोडेर देश र जनताको लागि काम गर्नुपर्ने बताएका हुन्।

संगठनलाई मजबुत बनाउँदै प्रदेश र स्थानीय तहमा रहेका कांग्रेस नेतृत्वको सरकारले राम्रो काम गरे आगामी चुनावको चिन्तै लिन नपर्ने उनको भनाइ छ।

‘२०८४ सालको निर्वाचनको चिन्ता गर्ने होइन, अहिलेको चिन्ता गर्ने हो, राम्रो काम गर्ने हो, सङ्गठनलाई बलियो बनाउने हो”, महामन्त्री शर्माले भने।

उनले विपीको विचार र चिन्तनलाई समावेश गरेर कांग्रेसको केन्द्रीय समिति बैठक अगाडि बढ्ने बताए। उनले विपी दूरदर्शी र परिपक्व नेता रहेको र उनको विचारलाई कांग्रेसले नछोड्ने बताए। नेपालको कम्युनिष्ट आन्दोलनले बिपीलाई समयमा चिन्न नसकेको उनको गुनासो थियो।