मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

सुन तस्करीको अनुसन्धानको जिम्मा सीआईबीलाई

सुन तस्करीको अनुसन्धानको जिम्मा सीआईबीलाई

काठमाडौं । सरकारले अन्ततः क्विन्टल सुन तस्करीको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई लगाउने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा सीआईबीलाई दिन निर्देशन दिएका हुन्।

यो नेपालमा सुन तस्करी मात्र नभइ एक अन्तरदेशीय संगठित अपराध भएको र यसको अनुसन्धानका लागि सीआईबी जतिको उपयुक्त निकाय अन्य नभएको बताउँदै प्रचण्डले सुन तस्करी प्रकरणमा अहिले आएर यो निर्णय लिएको स्रोतले जनाएको छ। 

गत साउन ३ गते सुन बरामद भएपछि हालसम्म यस विषयमा  राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ। मोटरसाइकलको ब्रेक शु भित्र लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा चिनियाँ, भारतीय र बेल्जियन नागरिकसहित १८ जना पक्राउ परिसकेका छन्।

विभागको अनुसन्धानले केही पक्राउ परे पनि यस तस्करीको गहिराइसम्म पुग्न सीआईबीको साथ चाहिने ठहर गर्दै प्रचण्डले यो निर्देशन दिएको बताइएको छ।

यस विषयमा हिजो ९बिहीबार० प्रधानमन्त्री दाहालले सुरक्षा निकायका उच्च अधिकारीहरुसँग छलफल गरेका थिए।

गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्णबहादुर खड्का, सीआईबी प्रमुख किरण बज्राचार्य, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना लगायत सहभागी रहेको बैठकपछि प्रधानमन्त्रीको यो निर्देशन आएको हो। 

यति ठूलो अपराधमा प्रहरीको साथ नलिएको भन्दै सरकारको आलोचना हुँदै आइरहेको थियो भने उता प्रमुख प्रतिपक्षी दल एमालले उच्चस्तरीय छानबिन समिति नबनेसम्म संसद् चल्न नदिने भन्दै दुवै सदनमा अवरोध गरिराखेको छ।

राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार र सुरक्षा जाँच पास गरेर बाहिरीसकेको करिब एक क्विन्टल सुन समातेको थियो।